स्वदेशमै रोजगार दिने उद्देश्यसहित ‘हरित रोजगार कार्यक्रम’ लागु हुने

Sharing is caring!

जेठ २०, २०७६ । रोजगारीकै लागि दिनहुँ १८ सयको संख्यामा युवाहरु बिदेशिएका समयमा नेपालमा उनीहरुलाई विदेशिनबाट रोक्नको लािग र स्वदेशमै केही गरौं भन्ने मनशायको साथमा हरित रोजगार कार्यक्रम लागु हुने भएको छ ।

दलित उपभोक्ता समूह, प्राकृतिक स्रोतका लागि दलित अधिकार मञ्च (डानार) र सहयात्रा फाउण्डेशन नेपाललगायतका बिभिन्न ७ संस्थाको सहकार्यमा उक्त हरित कार्यक्रम लागु हुन लागेको आयोजक संस्थाले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।

आयोजक संस्थाहरुका अनुसार बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ५ बाट सुरु हुनेगरि नेपालको ७ वटै प्रदेशका सामुदायिक वनहरुमा यो कार्यक्रम लागु हुने भएको हो । योजनाको सुरुवाती चरणमा अछाम, कालिकोट, नवलपरासी, तनहँु र काठमाडौँको बुढानिकण्ठमा लागु हुने र बिस्तारै सवै जिल्लाका खाली सामुदायिक वन क्षेत्रमा विस्तार गर्दै जाने जानकारी गराइएको छ ।

कार्यक्रममा बोल्दै डानारका संस्थापक अध्यक्ष तथा त्रिविमा अध्यययरत पि.एचडी.का बिद्यार्थी सुनिलकुमार परियारले योजनाबाट एक ब्यक्तिले प्रति महिना कम्तिमा पाँच हजार रुपैयाँ कमाउन सक्ने गरि कार्यक्रमको अवधारणा लागु हुने जानकारी गराए ।

वेरोजगारी देशका प्रमुख समस्या रहेको बताउदै सामुदायिक वनको खाली जग्गालाई सदूपयोग गरि रोजगार बनाउने आफ्ना संगठनको पहल रहेको उनको भनाई छ ।

काठमाडौँको बुढानिलकण्ठ क्षेत्रपनि यो समस्याबाट टाढा नरहेकोे बताउँदै उनले प्राकृतिक स्रोतका लागि दलित अधिकार मञ्च नामक संस्थाले यस क्षेत्रमा प्राकृतिक श्रोत, पानी, वन आदिलाई उपयोग गर्दै ५ हजार जनालाई रोजगारी दिनका लागि काम गर्ने निर्णय गरेको जानकारी गराए ।

बुढानिलकण्ठ क्षेत्रमा भएका क्लब, बैंकिङ्ग क्षेत्र, फाईनान्स, धनाढ्य ब्यापारी, उपभोक्ता समूह, महिला समूह आदीलाई परिचालन गर्दै एक घरको कम्तिमा दुई जनालाई रोजगारी उपलब्ध गराउने आफुहरुकोे लक्ष्य रहेको उनको भनाई छ । जसमा एक महिला र एक पुरुष रहनेपनि उनले खुलाए ।

आफूहरु ‘एक घर, दुई रोजगारी’ दिने अभियानमा लागेको पनि उनले स्पष्ट पारे । ‘रोजगारीमा लागेकाहरुले प्रति महिना कम्तिमा ५ हजार रुपैयाँ तलब बुझन सक्नेछन्’–उनले भने ।

आफ्नै गाउँमा, आफ्नै घरमा घरकै भात खाएर महिनाको रु.५ हजार तलब पाउने गरेर एउटा गरिब, दलित र महिलाले जागिर पाउने भनेको चानचुने कुरा हैन उनको भनाई रहेकोे छ ।

उक्त योजना सफल पार्न बुढानिलकण्ठ नगरपालिकामा प्रस्तावना पेश गरिसकेको पनि उनले जानकारी गराए ।

हरित रोजगार सम्मेलन गरी लगानीकर्ता, दातृ निकायलाई हरित रोजगारीका क्षेत्रमा लगानी गर्न उत्पे्ररित गर्नु आफुहरुको उद्देश्य रहेको उनको भनाई छ ।

त्यस्तै, कार्यक्रममा बोल्दै कुशल सरोकारले हरित रोजगार मार्फत पाँच हजार जनालाई रोजगारी दिने र यसका लागि दुई दिने सम्मेलन मार्फत युवालाई उत्प्रेरणा जगाई काम गर्ने वातावरणको सिर्जना गर्न लागेको जानकारी गराए ।

वन कृषिका लागि गाई फार्म, फूलखेती फार्म, माछापालनको फार्महरु निर्माण गरी रोजगारी दिने बारेमा सम्मेलनमा छलफल गरिने र खाली जग्गामा हरित रोजगारीका सम्भावनाहरुको खोजी गर्ने उनको भनाई छ ।

वन र वातावरणको संरक्षणलाई ध्यानमा राख्दै स्वरोजगार तर्फ युवालाई परिचालन गर्ने कार्यक्रम नै हरित रोजगार कार्यक्रम रहेको उनको भनाई छ । माछापालन,फुलखेती, वन कृषि तथा अन्य क्षेत्रमा रोजगारीको क्षेत्रलाई फराकिलो बनाई परिचालन गर्ने कार्यक्रमको लक्ष्य रहेको उनले जनाए ।

प्रत्येक बर्ष दशैं र तिहारमा करोडौ रुपैयाँ बराबरको सयपत्रि तथा मखमली फूलहरु भारतबाट भित्रिरहेको जनाउदै उनले त्यो पैसालाई स्वदेशमै रोक्न र स्थानियलाई पुर्ण रोजगार बनाउन सहयोग पुग्ने विश्वास रहेको बताए ।

साथै, उनले खाली सामुदायिक वनमो बाँस, निगालो, अमृसो तथा अन्य खेती गर्न सकिने बताउदै अदुवा, केरा, फुल आदि लगाउन चाहेमा पनि कानुनी प्रक्रियालाई सरल बनाएर यो काम गर्न सकिने उनको धारणा रहेको छ ।

त्यस्तै कार्यक्रममा बोल्दै युएनका प्रतितिधि तथा वनविज्ञ शम्भु चर्माकारले यस्ता कार्यक्रमबाट लाभ मिल्नुको साथै नगरपालिका र स्थानिय जनता बिच समधुर सम्बन्ध बनाउन सहयोग पुग्ने विश्वास ब्यक्त गरे । खाली भएका कृषि योग्य जमिनहरु उपयोगमा आउदा उपभोग्ताले लाभ लिन सक्ने उनको भनाई रहेकोे थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *