समाजवादी मोर्चाले सातै प्रदेशमा सन्देश सभा गर्ने

Sharing is caring!


भदौ ३, २०८० । सरकारको नेतृत्व गर्दै आएको माओवादी केन्द्रसहित चार राजनीतिक दल सहभागि रहेको समाजवादी मोर्चाले सात प्रदेशमा सन्देश सभाको आयोजना गर्ने भएको छ । सन्देश सभाको स्थान र मिति तय गर्न आज साझा नेकपा एकीकृत समाजवादी (नेकपा एस)को केन्द्रीय कार्यालयमा समाजवादी मोर्चाको बैठक बोलाइएको हो ।

सत्ता साझेदार माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एस चन्द नेतृत्वको माओवादी चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक आइतबार साँझ छ बजेका लागि तय भएको नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकले सन्देश सभाको निर्णय गरी जिम्मेवारीसमेत बाँडफाँट गरी व्यवस्थापनको काम अघि बढाउने छ । मोर्चालाई प्रदेश र जिल्ला तहमा विस्तार गर्नका लागि सन्देश सभा गर्न लागिएको हो ।

मोर्चाका अनुसार प्रदेश र जिल्ला तहमा संयोजन समिति रहने छ । कुनै पनि पार्टीका प्रदेशका अध्यक्ष तथा प्रमुखसहित प्रत्येक पार्टीबाट प्रदेशमा तीनतीन जना र जिल्लामा दुई÷दुई जना रहने छन् । प्रदेश र जिल्लामा सचिवालय पनि गठन गर्ने तयारी छ ।

मोर्चाले कार्यविधि बनाएर चार पार्टीका अध्यक्ष रहने केन्द्रीय संयोजन समिति बनाएको छ । त्यसको मातहतमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, नेकपा एस उपाध्यक्ष प्रमेश हमाल, जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा रहेको सचिवालय गठन गरेको छ ।

गत असार ४ गते समाजवादी मोर्चा घोषणा भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *