भैरहवा विमानस्थलबाट जनवरीमा अन्तरराष्ट्रिय परीक्षण उडान

Sharing is caring!

भदौ १०, २०७६ । सरकारले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको सिभिल र मेकानिकल काम डिसेम्बरभित्र सम्पन्न गरी २०२० जनवरीमा अन्तरराष्ट्रिय परीक्षण उडान गर्ने बताएको छ । सोमवार पर्यटन मन्त्रालयको चालू आर्थिक वर्षको प्राथमिकताप्राप्त कार्यक्रम सार्वजनिक गर्ने क्रममा पर्यटन मन्त्री योगेश भट्टराईले यो प्रतिबद्धता मात्र व्यक्त गरेनन्, सो विमानस्थलमा विदेशबाट उडान गर्न हवाई कम्पनीलाई प्रोत्साहन प्याकेजसमेत ल्याउने बताए ।

गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा नयाँ धावनमार्ग, टर्मिनल भवन, कन्ट्रोल टावर, पानी ट्याङ्की लगायत पूर्वाधार निर्माणका काम सकिएका छन् । आयोजनाका अनुसार अहिले विमानस्थलको भौतिक प्रगति ८० प्रतिशतभन्दा माथि छ ।

सोमवार भट्टराईले कानूनी तथा नीतिगत सुधार र पूर्वाधार विकास आफ्नो मन्त्रालयको पहिलो प्राथमिकतामा रहेको बताउँदै मन्त्रालयगत निकायका सुधारको फेहरिस्त पेश गरे । उनले बारास्थित निजगढ अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई अगाडि बढाउन लगानी बोर्डसँग छलफल गरी लगानीको मोडालिटी तयार गर्ने, टांगिया बस्ती व्यवस्थापनको मोडालिटी स्पष्ट गर्ने तथा वन तथा वातावरण मन्त्रालयसँग समन्वय गरी ‘साइट क्लियरेन्स’ गर्ने बताए ।

पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको निर्माण निर्धारित समयअघि नै सम्पन्न गर्ने र सवै प्रदेश राजधानीका विमानस्थललाई कम्तीमा ७० सीटभन्दा माथिका जहाज उडान तथा अवतरण हुन सक्नेगरी स्तरोन्नति र विस्तार गर्ने योजना उनले उल्लेख गरे ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको एयर ट्राफिक व्यवस्थापन गर्न काठमाडौं नजीक रामेछाप विमानस्थलको स्तरोन्नति गर्ने, अन्तरराष्ट्रिय विमानस्थलमा सुधार गरी २४ सै घण्टा सञ्चालनयोग्य बनाउने, नागरिक उड्डयन क्षेत्रको सुधारको लागि सबै प्रदेशका राजधानी जोडिने गरी अन्तर प्रदेश हवाई सेवा विस्तार गर्न प्रोत्साहन गर्ने योजना मन्त्रीको प्राथमिकतामा परेका छन् ।

भट्टराईले संस्कृति, पर्यटन र हवाई नीतिको परिमार्जन तथा नयाँ पर्यटन ऐन संशोधन गर्ने, नेपाललाई यूरोपेली संघको कालोसूचीबाट हटाउन आवश्यक पूर्व शर्तहरू पूरा गर्ने तथा यसका लागि नागरिक उड्डयन क्षेत्रमा नियामक र सेवाप्रदायक निकायको अलग अलग व्यवस्था हुनेगरी नयाँ कानूनहरू तर्जुमा गर्ने उल्लेख गरे ।

हालै मन्त्रालयद्वारा गठित कार्यदलको प्रतिवेदनका आधारमा नेपाल वायुसेवा निगमलाई सार्वजनिक कम्पनीका रूपमा सञ्चालन गर्ने, निगमको वाइडबडी साउदी अरेबियाको रियाद र चीनको क्यानचाउमा उडान गर्नुका साथै निगमसँग भएका सबै विमान सञ्चालनमा ल्याउने मन्त्रीको योजना छ ।

नेपाल भ्रमण वर्ष २०२० मा कम्तीमा २० लाख पर्यटक भित्र्याउन प्रमुख १० ओटा स्रोत बजारहरूको पर्यटक आगमन प्रक्षेपण र त्यसका लागि आवश्यक कार्यक्रम सञ्चालन गरिने मन्त्री भट्टराईले बताए । साथै नेपालमा पर्यटन लगानी सम्मेलन आयोजना गर्ने उनको भनाइ थियो ।

‘भ्रमण वर्षलाई सफल पार्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा सबै खालका कार्यक्रमहरू सम्पन्न गरिनेछ । संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठन (यूएनडब्ल्यूटीओ) को सहकार्यमा सन् २०१९ डिसेम्बरको अन्त्यमा विश्वका विभिन्न देशका पर्यटनमन्त्रीहरूको सहभागितामा कन्क्लेभ र सन् २०२० जनवरी १ मा विभिन्न देशका पर्यटन मन्त्रीहरूलाई सहभागी गराई नेपाल भ्रमण वर्षको शुभारम्भ गरिनेछ,’ उनले भने । मन्त्रालयले भ्रमण वर्षकै अवसरमा नेपालमा पर्यटन लगानी सम्मेलन समेत आयोजना गर्ने मन्त्री भट्टराईको भनाइ थियो ।

एकवर्षे कार्ययोजना अन्तर्गत पशुपति विकास कोष, लुम्बिनी क्षेत्र विकास कोष र जनकपुर क्षेत्र विकास कोष अन्तर्गतका विभिन्न सुधारको काम पनि परेका छन् । पशुपति क्षेत्रको सुधारमा पशुपति आसपासको क्षेत्रमा मात्र नभई तीनकुनेदेखि गौशालासम्मको क्षेत्रको व्यापक सुधार पनि समावेश गरिएको छ । यस्तै २ वर्षभित्र लुम्बिनी क्षेत्रको गुरुयोजना बमोजिमका बाँकी कार्यहरू सम्पन्न गर्ने, ग्रेटर लुम्बिनी सर्किट गुरुयोजना तयार गर्ने, जनकपुर क्षेत्र विकास, रामायण सर्किटको ‘डिजिटल डिस्प्ले’ तयार पारी जनकपुर क्षेत्रमा राख्ने लगायत कार्य रहेका छन् । यो खबर आर्थिक अभियानबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *