भयावह बन्दै असुरक्षित गर्भपतन, २५ प्रतिशत २० वर्ष मुनिका

Sharing is caring!

पुस ८, २०७५ । गर्भपतन गराउने सय जनामध्ये ५८ महिलाले असुरक्षित ढंगबाट गर्भपतन गराउने गरेको पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार महिलाले गर्ने गर्भपतनमध्ये ४२ प्रतिशतले मात्र सुरक्षित विधि प्रयोग गर्ने गरेका छन् । मन्त्रालयका अनुसार गर्भपतन गराउने सय जनामध्ये ४२ जनाले मात्र सुरक्षित विधि अपनाउने गरेका हुन् ।
नेपाल कानुन र चिकित्सकका अनुसार १२ साताभन्दा बढीको गर्भ, आवश्यक तालिम नलिएका वा अनुमति नलिएका स्वास्थ्यकर्मीबाट हुने र जोखिमपूर्ण विधिबाट गर्भाशयमा रहेको भ्रुण नष्ट गर्ने कार्य असुरक्षित गर्भपतन हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार २०७४/७५ मा मात्र ८० हजार ६७२ जनाले गर्भपतन गराएका छन् । तीमध्ये २ हजार १६५ जना २० वर्षभन्दा मुनिका किशोरी छन् । सरकारी तथ्यांकले २० वर्ष मुनिका किशोरीको गर्भपतन दर झन् भयावह देखाएको छ । यो तथ्यांकमध्ये अधिकांश महिला असुरक्षित हुने चिकित्सकहरू बताउँछन् । गर्भपतन गराउनेमध्ये २५ प्रतिशत २० वर्षमुनिका रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

२० वर्षमुनिका मध्ये झन्डै सत प्रतिशतले इच्छा नै नभएको गर्भलाई सुरक्षित तरिकाले गर्भपतन गराउन सूचीकृत नभएको स्थानमार्फत असुरक्षित ढंगबाट गर्भपतन गराएको सरकारकै तथ्यांकले देखाएको छ । सुरक्षित गर्भपतन सेवा कार्यक्रम कार्यविधि निर्देशिका २०७३ ले गर्भवती महिलाको लिखित मन्जुरीमा सूचीकृत स्वास्थ्यकर्मीद्वारा सूचीकृत स्वास्थ्य संस्थामा प्रचलित कानुनले तोकेको परिधिभित्र रहेर प्रदान गरिने गर्भपतन सेवालाई मात्र सुरक्षित गर्भपतन सेवा मानेको छ ।
सूचीकृत स्वास्थ्य संस्थामा सूचीकृत स्वास्थ्यकर्मीले बाहेक अन्य स्वास्थ्य संस्था अथवा स्वास्थ्यकर्मीले प्रदान गरेको गर्भपतन सेवा गैरकानुनी मानिन्छ । यस्तो सेवाप्रदायक र सेवाग्राही दुवै कानुनबमोजिम कारबाहीको भागीदार हुने प्रावधान छ ।
सुरक्षित गर्भपतन सेवा प्रक्रिया, २०६० अनुसार गैरसरकारी तथा निजी सूचीकृत स्वास्थ्य संस्थाले प्रत्येक पाँच वर्षमा जिल्ला जनस्वास्थ्य कार्यालयको सिफारिसमा परिवार स्वास्थ्य महाशाखाबाट नवीकरण गर्नुपर्छ ।
सूचीकृत स्वास्थ्य संस्था नवीकरण गर्न विभागले तोकेको नवीकरण शुल्कसहित सूचीकृत प्रमाणपत्रको सक्कलसहित परिवार स्वास्थ्य महाशाखामा बुझाउनुपर्ने हुन्छ । तर, सरकारी स्वास्थ्य संस्थाको हकमा संस्था एकपटक सूचीकृत भइसकेपछि नवीकरण गर्नुपर्दैन ।
स्वास्थ्य सेवा विभागको पछिल्लो तथ्यांकअनुसार ५८ प्रतिशत गर्भपतनहरू लुकिछिपी, असुरक्षित व्यक्ति वा गर्भवती महिला आफैंले गर्ने गरेका छन् ।
१० असोज २०५९ देखि सुरक्षित गर्भपतनले कानुनी मान्यता पाएको हो । हालसम्म सुरक्षित गर्भपतन गराउनेहरूको संख्या करिब ११ लाख रहेको सुरक्षित गर्भपतनको क्षेत्रमा वकालत गर्दै आएका संस्थाको तथ्यांकले देखाउँछ ।

नेपालको जनसांख्यिक र स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार गर्भपतन गराउनेमध्ये सबैभन्दा धेरै ३५ देखि ४९ वर्ष उमेर समूहका छन् । यी उमेर समूहका गर्भपतन गराउने महिलामध्ये २७ ले घरमा तथा निजी क्षेत्रको सेवा केन्द्रबाट सेवा लिएको पाइएको छ ।
नेपालमा १५ देखि ५९ वर्ष समूहका १० गर्भवती महिलामध्ये आठभन्दा बढी अर्थात् ८४ प्रतिशत महिलाले डाक्टर, नर्स, ७१ प्रतिशत महिलाले अनमीजस्ता दक्ष स्वास्थ्यकर्मीबाटै गर्भपतन गराउने गरेकोमा बाँकी १९ प्रतिशतले फार्मेसीबाटै गर्भपतनसम्बन्धी सेवा लिने गरेको तथ्यांकमा उल्लेख छ ।
सुरक्षित गर्भपतन सेवाको पहुँच सुनिश्चितता गर्न सूचीकृत १ हजार १ सय स्वास्थ्य संस्थामा ३ हजार नर्स, चिकित्सक र अनमीहरू खटिएका छन् ।

सुरक्षित गर्भपतन गराउने सूचीकृत स्वास्थ्य संस्थाबारे पर्याप्त जानकारी नहुँदा असुरक्षित गर्भपतनको दर बढेको ग्रामीण महिला सञ्जाल नेपालकी सम्झना पहाडीले बताइन् । सेवा कहाँ लिने भन्नेमै अलमल हुँदा महिलाहरूले असुरक्षित गर्भपतन गराउन बाध्य भएको पहाडीले बताइन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ कात्तिक २०७३ देखि गर्भपतन सेवा निःशुल्क बनाएको छ । चिकित्सकका अनुसार असुरक्षित गर्भपतनले अधिक रक्तश्राव, संक्रमण, पाठेघरको मुख, महिलाको प्रजनन अंग, पाठेघरजस्ता अति संवेदनशील अंगमा असर पुग्ने गर्छ ।
दक्ष र सूचीकृत स्वास्थ्यप्रदायक निकायबाट गर्भपतन गर्नुपर्ने विषयमा पर्याप्त जनचेतना नहुँदा पनि असुरक्षित रूपमा गर्भपतन गर्नेको संख्या बढ्दै गएको तथ्यांकले देखाउँछ ।
स्वास्थ्य संस्था दर्ता नभए पनि सूचीकृत र तालिम प्राप्त चिकित्सकले गर्भपतनसम्बन्धी सेवा प्रवाह गर्ने गरेको तर ती संस्थाको अनुगमनमा समस्या पर्ने प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. गेहनाथ बरालले बताए ।

प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. बरालका अनुसार औषधि र उपकरणको माध्यमबाट गर्भपतन गराउन सकिन्छ । नौ साताभन्दा कमको औषधिद्वारा र नौ साताभन्दा माथिको गर्भपतन उपकरणको माध्यमबाट गर्भपतन गर्न सकिने प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. बरालले बताए ।यो खबर राजधानीबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *