राष्ट्रिय सभा निर्वाचन : जनअस्वीकृत र राजनीतिक अपरिचित हाबी

Sharing is caring!

पुस २४, २०८० । आगामी माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनमा पटकपटक अवसर पाएका, चुनाव हारेका र कार्यकर्ता तहमा समेत अपरिचितहरूहाबी भएका छन्।

संसद्मा प्रतिनिधित्व गर्ने मुख्य राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले पटकपटक अवसर पाएका र राजनीतिक पहिचान नभएकाहरूलाई राष्ट्रिय सभामा उम्मेदवार बनाएका हुन्।

दलहरूले जनअस्वीकृत र राजनीतिक अपरिचित व्यक्तिहरूलाई राष्ट्रियसभामा पठाएपछि राजनीतिक नेतृत्वप्रति आम टिप्पणी हुन थालेको छ।

‘थाकेका गलेका, चुनाव हारेका, पार्टीले उचित स्थान दिन नसकेर चित्त दुखाएका र अशक्त भएका नेता कार्यकर्ताको व्यवस्थापन गर्ने थलो बन्दै राष्ट्रियसभा’ भनी चर्चित हास्य कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्नुभएको छ।

सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेबीच मुख्य प्रतिस्पर्धा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले २०४८ देखि चर्चित रहेका नेताहरूलाई मुख्य प्राथमिकता दिएको छ भने एमालेले राजनीतिक पहिचानविनाका कार्यकर्तालाई उम्मेदवार बनाएको छ।

सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले समेत २०६४ मै प्रतिनिधिसभा सदस्य भइसकेकादेखि कार्यकर्ताबीच गुमनाम रहेका समेतलाई टिकट दिएको छ।

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले ०५१ देखि निरन्तर टिकट लिएर दुईपटक जित र पाँचपटक हार ब्यहोरेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, सोही समयदेखि निरन्तर टिकट लगेर पटकपटक जिम्मेवारीमा पुग्दै पटकपटक हार्दै गरेका आनन्दप्रसाद ढुंगानालाई राष्ट्रिय सभामा उम्मेदवार बनाएको छ।

त्यस्तै, अवसर नपाएका केही इमानदार व्यक्तिहरूले समेत यसपटक राष्ट्रिय सभामा अवसर पाएका छन्। गठबनधनको सिट बाँडफाँटमा १० सिट पाएको कांग्रेमा पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै दुईवटै महामन्त्रीसहित संस्थापनइतर समूहका नेताहरूले टिकट वितरण प्रक्रियामा असहमति व्यक्त गरेका छन्।

उम्मेदवार छनोटप्रति महामन्त्री गगन थापाले लिखित रूपमै फरक मत राख्नुभएको छ भने अर्का महामन्त्री विश्वप्रकाश शर्माले ६ बुँदामा असहमति व्यक्त गर्नुभएको छ।

आइतबार राति अबेरसम्म बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले उम्मेदवारको टुंगो लगाएको थियो। यद्यपि, महामन्त्री थापाले उम्मेदवार चयनको मापदण्ड पालना नभएको र आग्रहपूर्ण निर्णय गरिएको भन्दै असहमति जनाएको बताउनुभयो।

कांग्रेसको संसदीय बोर्डले राष्ट्रिय सभा निर्वाचनका लागि संस्थापनका ६ र बाँकी सबै नेताका नाममा एकमुष्ट ४ गरी १० जना उम्मेदवार चयन गरेको छ।

उम्मेदवारी छनोटका सन्दर्भमा सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असहमति जनाउँदै महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय सभाको विशिष्टता बढाउने कर्तव्य दलहरूकै हो भन्ने हेक्का कांग्रेसले नराखेको बताउनुभएको छ।

उहाँले समावेशीताको सिद्धान्त विधानमा भए पनि व्यवहारमा लागू नभएको, योगदान र योग्यता बोकेका सयौं भए पनि जिम्मेवारीको अवसर न्यायोचित नभएको भन्दै टिप्पणी गर्नुभएको छ।

‘नेतृत्वले फरक विचार समूह गाँस्ने कि एक्लै बढ्ने रु फरक विचार समूहले भागमात्रलिने कि न्यायोचित प्रतिनिधित्व खोज्ने रु’ –शर्माले प्रश्न गर्नुभएको छ ।

त्यस्तै, नेताहरू अर्जुननरसिंह केसी र बलबहादुर केसीले समेत फरक मत राखेका छन्। राष्ट्रियसभा सदस्यको निर्वाचनमा उम्मेद्वार तय गर्नेबारे पौष १४, २०८० को कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयलाई नेतृत्वले लत्याएको उनीहरूको आरोप छ।

भौगोलिक तथा जातीय सन्तुलन मिलाउने र अवसरबाट बञ्चित भएका, योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिने भनी गरेको व्यवस्थालाई ठाडो उल्लंघन र पार्टीको संस्थागत निर्णयप्रति अविश्वनीयता खडा गरेको नेता अर्जुननरसिंह केसीले बताउनुभयो। राष्ट्रिय सभाको टिकटको विषयलाई लिएर कांग्रेसभित्र भाँडभैलो हुन थालेको छ।

स्थानीय र प्रदेश सभाको मतभारअनुसार सत्ता गठबन्धनको सहज जित देखेको एमालेले चुनाव हार्ने पक्का भएपछि पार्टी राजनीतिमा अपरिचितलाई टिकट दिएको एमालेका नेताहरूले बताएका छन्।

‘एमालेले यसपटक नयाँहरूलाई अवसर दिएको छ’, नेकपा एमालेका पोलिटब्युरो सदस्य विशाल भट्टराईले भन्नुभयो– ‘राष्ट्रिय सभाको टिकट पाएकाहरू केही मात्रै केन्द्रीय समितिमा होलान्।’

गत संसदीय वा प्रदेश निर्वाचनमा टिकट पाएका, सांसद भएका वा हारेकाहरू कोही पनि नपरेकाले धेरै उम्मेदवारलाई केन्द्रीय प्रायः सबै उम्मेदवारहरूले राष्ट्रिय सभा निर्वाचनबाट राजनीतिक पहिचान बनाउने नेताहरूले बताएका छन्।

सत्ताको नेतृत्व गरेको दल नेकपा माओवादी केन्द्रले लुम्बिनीबाट ०६४ का सांसद झक्कुप्रसाद सुवेदीसहित ६ नेताले उम्मेदवारी दर्ता गराएका छन् । यो खबर नेपाल समाचारपत्रबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *