मनाङमा माइनस १४ डिग्री

Sharing is caring!

पुस ८, २०७५ । जंगलमा आगलागी हेर्न शनिबार बिहान हिँडेका सशस्त्र प्रहरी ३२ नम्बर गुल्म चामेका डीएसपी नीलकमल आचार्य तलेखु नजिकै अचानक रोकिए । उनले देखे– मस्र्याङ्दी नदी पारिपट्टिको ठाडो खोलाको झरनाबाट बग्ने पानी जमेको ।

मस्र्याङदी किनारसम्म आँखा डुलाए, त्यहाँ पनि पानी जमेकै थियो । उनीसँगै अन्य प्रहरले समेत बग्दाबग्दै जमेको छहरा र पानीलाई नजिकबाट नियाले । ‘बग्दाबग्दैको पानी जमेको पहिलो पटक देखें,’ उनले भने, ‘भरिएको पानी, बाटोको पानी तथा शीत भोलिपल्ट जमेको त देखेकै हो । झर्दाझर्दैको पानी जमेको देखेर अनौठो लाग्यो ।’

अत्यधिक चिसोले जमेको पानी बिहान १० बजेसम्म पनि पग्लिएको थिएन । ‘भित्रभित्रै अलिअलि बगिरहेको थियो, बाहिरबाट हेर्दा सबै जमेको । अचम्म लागेपछि मैले फोटो पनि लिएँ,’ उनले भने । पानीकै वेगले बनेको पोखरीमा समेत जमेको थियो । ‘मान्छे डुब्ने पोखरीमा जुत्ताचप्पल लगाएर हिँड्न र उभिन सकिने थियो,’ उनले भने ।

माथिल्लो मनाङस्थित मनाङ सामुदायिक लघु जलविद्युत् आयोजनाको ट्यांकीको पानी पनि चिसोका कारण बरफ बनेको थियो । स्थानीय मुखिया गोतामे (स्नोमङकी) का अनुसार समितिका सदस्य तथा स्थानीयलाई बरफ फाल्न शनिबार बिहानभर लाग्यो । ‘पाइपबाट आएको पानी ट्यांकीमा जमेको रहेछ, हामीले गल–बेल्चाको सहयोगले बरफ फुटायौं,’ उनले भने ।

मनाङमा अहिले घरभित्रबाहेक खानेपानीसमेत पाउन मुस्किल छ । बरफ पगालेर खानुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् । उनीहरूका अनुसार वरपरका स–साना पानीका स्रोत सबै जमेका छन् । चिसोका कारण जनजीवन कष्टकर भइरहेका बेला पानीका स्रोतसमेत जमेपछि थप समयस्या भएको छ ।

सामान्यत: शून्य डिग्रीमा पानी जम्ने भए पनि बग्दै गरेको पानी अत्यधिक चिसो भएमात्रै जम्ने गर्छ । मनाङको तापक्रम रातिको समय माइनस १४ सम्म पुगिरहेको प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताए । ‘न धारामा पानी आउँछ । न स–साना खोला बगेको देखिन्छ । बग्दै गरेको खोलासमेत जमेको देख्छु । मस्र्याङदी त्यत्रो ठूलो खोलाको छेउछेउ त जम्दोरहेछ,’ उनले भने, ‘दिनभर घाम लागे केही राहतको महसुस हुन्छ, नत्र अत्यासै लाग्ने रहेछ ।’ चिसो बढेपछि कतिपय कार्यालयका प्रमुख तथा कर्मचारी बिदा मिलाएर घर फर्केको देवकोटाले बताए ।यो खबर कान्तिपुरबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *