बालगृहबाट १ सय २२ को उद्दार

Sharing is caring!

जेठ ३, २०७६ । केन्द्रीय बाल कल्याण समिति र बालबालिका खोजतलास समन्वय केन्द्रले एउटै बालगृहबाट १ सय २२ जना बालबालिकालाई उद्दार गरेको जनाएको छ ।
बूढानीलकण्ठ नगरपालिका–९ स्थित सुकेधारमा रहेको ऐश्वर्य बालगृहबाट बालबालिकालाई उद्दार गरेको बालबालिका खोजतलास केन्द्रका प्रहरी निरीक्षक मोहन विक्रम दाहालले बताउनुभयो ।

मापदण्डविपरीत, बालबालिकाको अधिकार हनन हुने गरी, कानुनविपरीत बालबालिका थुपारेर बालबालिकाको बिजोग गरेको सूचनाको आधारमा उनीहरुको उद्दार गरिएको उहाँले बताउनुभयो ।

उनीहरुलाई आठ घण्टा लगाएर उद्दार गरिएको प्रहरी निरीक्षक दाहालले भन्नुभयो। ‘हामीले सूचना पाउनेबित्तिकै हामी बालगृह पुग्यौँ । त्यहाँ पुगेपछि आश्चार्य चकित केमा भयौँ भने कल्पना गरेको भन्दा धेरै बालबालिका र त्यहाँको अवस्था निकै दयनिय थियो’, उहाँले भन्नुभयो– ‘भेडा बाख्रा कोचिएर राखेको जस्तै गरी बालबालिका राखिएको थियो ।’

बालबालिकाको अवस्था निकै दयनीय तथा सफा सुग्घर पनि नभएको र पेटभरिसमेत खाना नपाएको समेत भेट्टिएको थियो । ती बालबालिकालाई पढाइरहेको भने पनि कलमकापी समेत दिइएको थिएन ।

यस्तो अवस्था देखेपछि उद्दार गर्नुपरेको उद्दारमा खटिनुभएका दाहालले बताउनुभयो । केन्द्रले महानगरीय प्रहरी वृत्त, महाराजगञ्जको टोलीसँग समन्वय गरी सञ्चालक निर्मला घिमिरेका छोरा प्रमोदराज घिमिरेलाई नियन्त्रणमा लिइएको जनाएको छ ।

उक्त बालगृहमा ४ देखि १२ वर्ष उमेर समूहका बालबालिका रहेका थिए । सो बालगृहमा हुम्ला, डोल्पा, धादिङ, रसुवा, नुवाकोटलगायत विकट क्षेत्रका बालबालिका ल्याएर राखेको थियो । उद्दारपछि ती बालबालिकालाई विभिन्न आठ बालगृहमा राखिएको केन्द्रले जनाएको छ । यो खबर नेपाल समाचारपत्रबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *