त्रिवि सेवा आयोग परीक्षा अनियमितता, मौखिक परीक्षा स्थगित

Sharing is caring!

जेठ ३, २०७६ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको लिखित परीक्षा विवादमा परेपछि मौखिक परीक्षा स्थगित गरिएको छ । लिखित परीक्षामा त्रिविका उच्च पदाधिकारी र राजनीतिक नेतृत्वका आफन्त बढी उतीर्ण भएपछि त्यसको चर्काे आलोचना हुँदै आएकामा पछिल्लो समयमा मौखिक परीक्षा स्थगित गरिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि लिखित परीक्षामा भएको अनियमिततामाथि अनुसन्धान अघि बढाएको छ ।
त्रिवि सेवा आयोगको खुला प्रतियोगिताअन्तर्गतको शाखा अधिकृत पदको २ जेठ २०७६ देखि हुने भनिएको अन्तर्वार्ता स्थगित भएको हो । आयोगले २०७५ जेठमा खुला प्रतियोगिताअन्तर्गत प्रशासनिक तथा प्राविधिक तहका विभिन्न पदमा परीक्षा लिएको थियो ।

परीक्षा लिएको १० महिनापछि १४ वैशाखमा आयोगले नतिजा सार्वजनिक गरेको थियो । लिखित परीक्षाको नतिजा सार्वजनिक भएलगत्तै आयोगका पदाधिकारीले आफू निकट तथा उच्च राजनीतिक नेतृत्वको दबाबमा केही व्यक्तिलाई उत्तीर्र्ण गराएको भन्दै अख्तियारमा उजुरी परेको थियो ।
त्यसलगत्तै अख्तियारले सबै उत्तरपुस्तिका नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । कोइरालाका अनुसार त्रिवि सेवा आयोगको परीक्षा प्रणालीको अनियमितताको विषयलाई अख्तियारले उच्च प्राथमिकतासाथ अध्ययन अनुसन्धान गरिरहेको छ ।

अख्तियार प्रवक्ता कोइरालाले भने, ‘आयोगले परीक्षामा भएको अनियमितताको उजुरीको विषयलाई उच्च प्राथमिकतासाथ हेरिरहेको छ । आयोगले उजुरी ग्रहण गरेर समिति नै गठन गरी अनुसन्धानलाई तीव्र रूपमा अघि बढाएको छ ।’
लिखित परीक्षामा त्रिविका उच्च पदाधिकारी, विद्यार्थी, कर्मचारी संघसंगठन र राजनीतिक दलका उच्च नेताका आफन्तको नाम निस्किएको भन्दै चौतर्फी विरोध हुँदै आएको छ । परीक्षा पारदर्शी नभएको भन्दै विद्यार्थी संगठनले केही दिनअघि त्रिवि सेवा आयोगको कार्यालय तोडफोडसमेत गरेका थिए ।

त्रिविका एक प्राध्यापकले भने, ‘अधिकांश व्यक्ति पहुँचको भरमा लिखित परीक्षामा उत्तीर्र्ण भएका छन् । उत्तरपुस्तिका परीक्षणमा तलमाथि गरेर सेटिङमा आफू निकटका विद्यार्थीको नतिजा बाहिर ल्याइएको छ ।’
यस्तै, आयोगले लिएको परीक्षामा उमेर हद कटिसकेका व्यक्तिको समेत लिखित परीक्षामा नाम निस्किएको खुलासा भएको छ । यो विषयमा अख्तियारमा उजुरी परेको छ ।
उजुरीपत्रमा भनिएको छ, ‘उक्त विज्ञापनमा उपप्रशासक पदका लागि नाम निकाल्न सफल भएका रत्नबहादुर महर्जनको उमेर हदको कारणले अख्तियारबाट कारबाहीका लागि समेत सिफारिस भइसकेका व्यक्तिलाई परीक्षामा सामेल गराई उत्तीर्र्णसमेत कुन आधारमा गराइएको ?’आयोगका प्रशासन प्रमुख परशुराम कोइरालाले भने लोकसेवा आयोगका सदस्यको कार्य व्यस्तताका कारण परीक्षा स्थगित भएको बताए । यो खबर राजधानीबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *