प्यान दर्ता तत्काल सम्भव छैन: महासंघ

Sharing is caring!

साउन ३, २०७६ । नेपाल घरेलु तथा साना उद्योग महासंघले तत्काल प्यान दर्ता गरी बैंकमार्फत तलब भुक्तानी गर्ने व्यवस्था लागू गर्ने अवस्था नरहेको भन्दै थप समय उपलब्ध गराउन आग्रह गरेको छ। २०७६/७७ देखि निजी क्षेत्रमा काम गर्ने सबै कर्मचारी र मजदुरलाई अनिवार्य (प्यान दर्ता गरी बैंकमार्फत तलब भुक्तानी गर्ने व्यवस्था लघु, घरेलु तथा साना उद्योगमा तत्काल लागू गर्ने अवस्था नरहेको महासंघले जनाएको छ।

साथै सामजिक सुरक्षा कोषको व्यवस्था पनि पहिले ठूला र मझौला उद्योगमा लागू गरी त्यसको व्यावहारिक अनुभवबाट मात्र क्रमशः लघु, घरेलु तथा साना उद्योगमा लागू गर्न श्रम मन्त्रालय र निजी क्षेत्रबीच मौखिक सहमति भएको पुष्ठभुमिमा यस्ता उद्योगमा काम गर्ने कर्मचारी र मजदुरलाई प्यान दर्ता गर्ने प्रयोजनको तयारीका लागि ६ महिना अवधि उपलब्ध गराउन महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले आग्रह गरे।

आन्तरिक ढुवानीमा गरेको कामतर्फ २०७६/७७ देखि लागू गर्न खोजिएको मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसीटीएस) र ढुवानीमा मूल्य अभिवृद्धि कर लगाउने व्यवस्थाले लघु, घरेलु तथा साना उद्योगका कच्चापदार्थ र उत्पादनको ढुवानी ओसार र पोसारमा प्रतिकुल प्रभाव पारी त्यसको उत्पादन प्रणालीलाई नै तहसनहस पार्ने हुँदा मुलुककै आपूर्ति व्यवस्था, वैदेशिक निर्यात व्यापार र रोजगारीमा नकारात्मक प्रभाव पर्नेतर्फ महासंघले सरकारको ध्यानाकर्षण गराएको छ।

भीसीटीएसका लागि मोबाइल एप र अनलाइन पोस्टिङ गर्ने जनशक्तिलाई सक्षम बनाउन र भरपर्दो इन्टरनेट सेवा उपलब्ध गराउन समय लाग्ने हुँदा ढुवानीमा मूल्य अभिवृद्धि कर कार्यान्वयनका तयारीका लागि कम्तीमा १ वर्षको समय उपलब्ध गराउन महासंघको आग्रह छ।

मैदा, चिनीलगायत खाद्य पदार्थमा लगाइएको मूल्य अभिवृद्धि करले स्वदेशी खाद्य वस्तुको मूल्य वृद्धि हुन गई साधारण जनताको जनजीवनमा प्रतिकुल प्रभाव पर्ने हुँदा बाढीपहिरो र प्राकृतिक विपत्तीको यस परिस्थितिमा यसलाई स्थगित गर्न महासंघले आग्रह गरेको छ।यो खबर अन्नपूर्ण पोस्टबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *