प्लास्टिक झोला प्रतिबन्ध योजनामै सीमित

Sharing is caring!

पुस २३, २०७५ । काठमाडौंमा दैनिक निस्कने फोहोरमा ७० प्रतिशतभन्दा बढी प्लास्टिकजन्य हुन्छन्। २० माइक्रोनभन्दा कमका झोला उत्पादन गर्न काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले वातावरणलाई असर पार्ने प्लास्टिकजन्य झोला बिक्रीवितरण तथा प्रयोजन निषेध कार्यक्रम सार्वजनिक गरेका थिए। तर कार्यान्वयन भएन।

यस विषयमा अघिल्लो वर्ष महानगरले कार्ययोजनासमेत तयार पार्‍यो। सरोकारवालासँग छलफल पनि चलायो। छलफलमा व्यवसायीले २० माइक्रोनभन्दा बढीका झोला उत्पादन रोक्ने प्रतिबद्धता व्यक्त गरे। तर ती प्रतिबद्धता कागजमै सीमित रहे। अनुगमनको जिम्मा पाएको महानगरले पनि व्यवसायीका प्रतिबद्धतालाई कडाइ गर्न सकेन।

टेकुमा रहेको महानगरको वातावरण व्यवस्थापन विभाग अव्यवस्थित छ। कार्यालय वरपर नै प्लास्टिकजन्य फोहोरको डंगुर भेटिन्छ। काठमाडौं बढी प्रदूषित हुनुमा प्लास्टिकजन्य फोहोर पनि प्रमुख कारण रहेको विज्ञहरू औंल्याउँछन्। ‘मुख्य कुरा अनुगमन फितलो भो। कार्यान्वयन गर्ने निकाय कडा ढंगले प्रस्तुत नहुँदा वातावरण प्रदूषित बनेको हो’, वातावरणविद भूषण तुलाधरले भने।

विशेषगरी जाडोमा आगा ताप्ने उद्देश्यले प्लास्टिकजन्य वस्तु बाल्ने प्रवृत्तिलाई रोक्नुपर्ने उनको भनाइ छ। ‘एक त प्लास्टिक कुहिँदैन। यसलाई पुनः प्रयोग गर्न सकिन्छ। केहीले गरेका पनि छन्’, तुलाधरले भने, ‘तर कम प्रयोग गर्न सुझाउनु आवश्यक देखिन्छ।’ वर्षात्का बेला प्लास्टिकजन्य फोहोरले नै ढल जम्ने दुर्दशा महानगरवासीले भोग्दै आएका छन्।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले प्लास्टिकजन्य झोला वा अन्य वस्तु प्रयोग निषेध गर्ने कार्यक्रमलाई प्रभावकारी बनाउन नसकिएको स्विकारे। ‘कार्यक्रम त ल्याइयो तर कार्यक्षेत्रमै पुगेर यसलाई निरुत्साहित गर्न नसकिएको हो’, उनले भने, ‘कसरी अघि बढ्ने भनेर छलफल भइरहेको छ।’यो खबर अन्नपूर्ण पोस्टबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *