पूर्वराजा ज्ञानेन्द्रको चलखेल बढ्यो

Sharing is caring!

पुस ९, २०७५ । पछिल्लो समय हिन्दू धर्म र राजतन्त्रको वकालत गर्दै गोप्य बैठक गर्न थालेका पूर्वराजा ज्ञानेन्द्रले राप्रपा नेपालका अध्यक्ष कमल थापासहित तीन दर्जनभन्दा बढी राप्रपाका नेता र राजावादीसँग भेट गर्नुभएको छ।

पोखराको निर्मल पोखरीस्थित माउन्टेन ग्लोरी फरेस्ट रिसोर्टमा बस्दै आउनुभएका पूर्वराजाले अध्यक्ष थापासँग देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी लिनुभएको थियो।

गोप्य भेटमा राजतन्त्र र हिन्दू राज्य कायम गर्ने विषयमा छलफल भएको थियो। त्यसलगत्तै ज्ञानेन्द्रले पूर्वमन्त्री जगत गौचन, कमला शर्मा, दुर्गा श्रेष्ठलगायत एक दर्जनभन्दा राप्रपाका नेतासँग भेट गर्नुभएको थियो।

भेटमा अधिकांश नेताले पूर्वराजालाई सक्रिय हुन सल्लाह दिएको बताइएको छ। अंग्रेजी नयाँ वर्ष मनाउन भन्दै यही पुस २ गते पोखरा पुग्नुभएका ज्ञानेन्द्रले हिजो आइतबार पश्चिमाञ्चल क्षेत्रका २१ जना स्थानीय नेतासँग सामूहिक भेट गर्नुभएको थियो। भेटमा सबैले देशमा राजतन्त्र र हिन्दू राज्य ल्याउन आन्दोलन गर्नुपर्ने विकल्प नभएको सुझाव पूर्वराजा ज्ञानेन्द्रलाई दिएका थिए। आफ्ना परिवारका लागि भन्दै करिब २४ वटा कोठा बुक गर्नुभएका पूर्वराजाले होटलमै सबैसँग भेटघाट गर्दै आउनुभएको छ।

केही दिनका लागि सो होटलमा नेपाली पाहुना नराख्न पूर्वराजाले आग्रह गरेपछि होटल प्रशासनले विदेशी पाहुनालाई मात्र होटलमा राखेको छ। अहिले ज्ञानेन्द्र, कोमल, निजी सचिव सागर तिमल्सिना, निजी सुरक्षा गार्ड, केही सहयोगी र निजी चालक सूदन थापा मात्रै होटलमा बस्दै आएका छन्। पूर्वराजा ज्ञानेन्द्रले सागर तिमल्सिनामार्फत विभिन्न तहका नेतालाई होटलमै बोलाएर भेटघाट गर्ने गर्नुभएको छ। ‘बल्ल भेटघाट शुरू भएको छ, यो क्रम केही दिनसम्म चल्नेछ।’ –स्रोतले नेपाल समाचारपत्रसँग भन्यो। सो होटलमा देशैभरका विभिन्न तहका राजावादीलाई क्रमैसँग बोलाएर भेट गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ।

ज्ञानेन्द्रलाई भेट गर्न युवा विश्व हिन्दू महासंघका अध्यक्ष राजन महर्जनसहितको टोली आज सोमबार पोखरा जाने कार्यक्रम तय भएको छ। महर्जनका अनुसार हिन्दू राज्य र राजतन्त्रको विषयमा छलफल गर्न थप कार्यक्रम सञ्चालन गर्ने विषयमा पूर्वराजालाई जानकारी गराउन भेट गर्न लागिएको हो।

पछिल्लो समय देशको राजनीतिबारे बढी चासो राख्न थाल्नुभएका ज्ञानेन्द्रले हिन्दू धर्म स्थापित गराएर राजतन्त्र ल्याउने प्रयास गरिरहनुभएको छ। कमल थापासँगको भेटमा नेपाली कांग्रेसको सहयोग लिएर हिन्दू धर्मको पक्षमा कार्यक्रम अघि बढाउन आग्रह गर्नुभएका पूर्वराजाले त्यसका लागि भित्रीरूपमा आफ्नोसमेत साथ र सहयोग रहने बताउनुभएको थियो।

हिन्दू धर्मको पक्षमा नेपाली कांग्रेसको महासमिति बैठकमा ७ सय ९ महासमिति सदस्यसहित १ हजार ५ सय ४ जनाले धर्म निरपेक्षताको विरुद्धमा हस्ताक्षर अभियान सञ्चालन गरेका थिए। पूर्वराजासँग निकट रहेका राप्रपा नेपालले फागुन ७ गतेदेखि हिन्दू धर्म र राजतन्त्रको पक्षमा आन्दोलन गर्ने घोषणा गरिसकेको छ।

आन्दोलनकोे मौका छोप्दै पूर्वराजा ज्ञानेन्द्रले आफूसँग भेट भएका सबैलाई हिन्दू धर्मको पक्षमा लबिङ गर्न आग्रह गर्नुभएको छ। नयाँ वर्ष मनाएलगत्तै ज्ञानेन्द्रले विभिन्न तहका नेतासँग भेटघाट गर्ने कार्यक्रम तय भएको स्रोतले दाबी गरेको छ।

जनवरी १ का दिन नयाँ वर्ष मनाउन पोखरा पुग्नुभएका ज्ञानेन्द्र केही दिन आफन्तसँग रमाइलो गर्ने कार्यक्रम रहेको छ। भोलि १० गतेबाट पारिवारिक जमघट शुरू गर्नुहुने भएको छ। बुहारी हिमानी, नातिनीद्वय पूर्णिका, कीर्तिका र नाति हृदयेन्द्र, छोरी प्रेरणालगायतको टोली मंगलबार पोखरा पुग्ने भएको छ। त्यसपछि ज्ञानेन्द्रका बालसखा प्रभुशमशेर र उहाँका परिवार, बहिनी, ज्वाइँहरू, धीरेन्द्रकी पुत्रीत्रय पूजा, दिलाशा र सिताष्मालगायका आफन्त पनि पोखरा पुग्ने कार्यक्रम तय भएको छ।

उता ज्ञानेन्द्र पुत्र पारसको जन्मदिन पनि पोखरामै मनाउने तयारी भइरहेको छ। पुस १५ गते पारसको जन्मदिन हो। नयाँ वर्षको २ दिनअघि पारसको जन्मदिन मनाएपछि आफन्त र सपरिवार नयाँ वर्षको कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ।यो खबर नेपाल समाचारपत्रबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *