विश्व क्रिकेटका कान्छा कप्तान

Sharing is caring!

पुस ९, २०७५ । अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट क्रिकेटमा एक सात वर्षीय बालकले अस्ट्रेलियन टोलीको कप्तानको भूमिका निर्वाह गर्ने भएका छन्। क्रिकेट अस्ट्रेलियाले आइतबार भारतविरुद्घको तेस्रो टेस्टमा ती सात वर्षीय बालकलाई कप्तानको जिम्मेवारी दिने घोषणा गरेपछि विश्वभर यसको चर्चा चुलिएको छ। अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट आगामी बुधबार मेलबर्न क्रिकेट मैदानमा सुरु हुँदै छ।

त्यही टेस्टमा सात वर्षीय बालक आर्ची चिलरले कप्तानको भूमिका निर्वाह गर्न लागेका हुन्। उक्त खेलमा नियमित कप्तान टिम पाइनसँगै आर्चीले पनि संयुक्त रूपमा कप्तानको जिम्मेवारी निर्वाह गर्नेछन्। क्रिसमसको भोलिपल्टै सुरु हुने ‘बक्सिङ डे’ टेस्टमा भारतीय टोलीको नेतृत्व भने विराट कोहलीले नै गर्नेछन्। क्रिकेट अस्ट्रेलियाको यो घोषणापछि आर्ची अहिले विश्वभरका सञ्चारमाध्यममा मजैले छाएका छन्।

अस्ट्रेलियन टोलीका नियमित कप्तान पाइनले पनि यो समाचारको पुष्टि गरिसकेका छन्। वास्तवमा आर्ची सानै उमेरदेखि मुटु रोगबाट पीडित छन्। थुप्रै पटक उनको मुटुको गम्भीर शल्यक्रिया समेत भइसकेको छ। आर्ची केवल तीन महिनाको हुँदा चिकित्सकले उनको मुटुको भल्बमा समस्या रहेको पत्ता लगाएका थिए। त्यसपछि सात घण्टा लगाएर आर्चीको मुटुको शल्यक्रिया गरिएको थियो। त्यसको ६ महिनापछि आर्चीको मुटुको धडकनमा पुनः समस्या देखियो र उनले लामो समय अस्पतालको शड्ढयामा बिताए। पछिल्लो पटक सन् २०१७ को डिसेम्बरमा आर्चीको ओपन हार्ट सर्जरी गरिएको थियो। त्यतिबेला चिकित्सकहरूले आर्चीको आमा÷बुवालाई शल्यक्रियाको नतिजा दुःखद पनि आउन सक्ने संकेत दिएका थिए। आफ्नो छोराले सानै उमेरदेखि भोगेको कष्टका कारण आर्चीका आमा÷बुवा पनि मर्माहत छन्।

‘पछिल्लो पटक शल्यक्रिया गर्नुअघि चिकित्सकले हामीलाई जस्तोसुकै परिस्थितिको सामना गर्न पनि तयार रहन सुझाव दिएका थिए। हामी आफ्नो छोराले भोग्नुपरेको कष्टबाट पटकपटक मर्माहत भएका छौं’, आर्चीकी आमा सराहले भनेकी छन्। आर्ची क्रिकेट भनेपछि हुरुक्कै हुन्छन्। तर, मुटुको गम्भीर समस्याका कारण क्रिकेट खेल्ने उनको सपना भने पूरा हुन सक्दैन। उनी आफ्नै साथीहरूसँग पनि लामो समय खेल्न वा दौडन सक्दैनन्।

केही समयअघि आर्चीका पिताले उनको सपनाबारे सोधेका थिए। त्यतिबेला आर्चीले कप्तानका रूपमा अस्ट्रेलियन क्रिकेट टोलीको नेतृत्व गर्नु आफ्नो सपना भएको बताएका थिए। उनको रोग र सपनाको विषयमा विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि त्यही सपना पूरा गर्न भारतविरुद्घको तेस्रो टेस्टमा आर्चीलाई अस्ट्रेलियन टोलीको कप्तान बनाउन लागिएको हो।

क्रिकेट अस्ट्रेलियाले भारतविरुद्घको तेस्रो टेस्टमा आर्चीलाई कप्तान बनाउने घोषणा गरेपछि आर्चीसँगै बुवा डामिन र आमा सराहको मुहारमा लामो समयपछि खुसी ल्याएको छ। केही समयअघि एडिलेडमा भएको भारतविरुद्घ पहिलो टेस्टअघि अस्ट्रेलियन टोलीका अन्य खेलाडीसँगै आर्चीले पनि अभ्यास गरेका थिए। त्यतिबेला नै आर्चीलाई तेस्रो टेस्टमा कप्तानको जिम्मेवारीसहित मैदानमा उतारिने योजना बनाइएको थियो।
अस्ट्रेलियन टोलीका प्रमुख प्रशिक्षक जस्टिन लेंगरले नै आर्चीलाई १५ सदस्यीय टोलीमा समावेश गरेको समाचारमा जनाइएको छ। गत शनिबार मात्र आफ्नो सातौं जन्मदिन मनाएका आर्ची बलिङ गर्न रुचाउँछन्। उनी लेग स्पिनर हुन्। प्रमुख प्रशिक्षक लेंगरसँगको कुराकानीमा आर्चीले आफूसँग भारतीय टोलीका कप्तान कोहलीलाई आउट गर्ने आत्मविश्वास रहेको पनि बताएका छन्।

लेंगरले नै आर्चीलाई उनी तेस्रो टेस्टका लागि टोलीमा परेको जानकारी टेलिफोनमार्फत दिएका थिए। बीयूपीए फेमली डेका अवसरमा आइतबार दिउँसो यारा पार्कमा आयोजित कार्यक्रममा अस्ट्रेलियन र भारतीय टोलीका खेलाडीसँगै आर्ची पनि उपस्थित थिए। आर्ची अस्ट्रेलियन क्रिकेटर नाथन लियोनको खेल निकै मन पराउँछन्।

यी दुईबीचको चार टेस्टको शृंखला हाल १—१ को बराबरीमा छ। पहिलो टेस्टमा भारत र दोस्रोमा अस्ट्रेलिया विजय भएका थिए। यस्तोमा यी दुवै टोलीका लागि बाँकी दुई टेस्ट निकै महत्वपूर्ण छ। अस्ट्रेलिया र भारत विश्व क्रिकेटका महारथी राष्ट्र हुन्। अस्ट्रेलियाले हालसम्म सर्वाधिक पाँच पटक एकदिवसीय विश्वकपको उपाधि जितेको छ। वर्तमान विश्व च्याम्पियन पनि अस्ट्रेलिया नै हो। भारतले पनि दुई पटक विश्वकप उपाधि चुमिसकेको छ।यो खबर अन्नपूर्ण पोस्टबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *