सुन तस्करी प्रकरणमा भरियालाई बल्छी, मालिकको छैन पत्तो

Sharing is caring!

भदौ २४, २०८० । ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा अधिकांश व्यक्तिहरू भरिया र व्यवस्थापन गर्नेहरू मात्रै प्रहरीको फन्दामा परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शनिबार विमानस्थल भन्सारका तीन जना कर्मचारीलाई पक्राउ गरेसँगै सो काण्डमा पक्राउ पर्नेहरूको संख्या ३० पुगे पनि लगानीकर्ता फेला पार्न सकेको छैन ।

सोही प्रकरणमा शनिबार विमानस्थल भन्सारका अधिकृत पुष्पा जोशी र नायब सुब्बाद्वय कमल परियार र वीरेन्द्र नेपाली पक्राउ परेका हुन् । सरकारको नेतृत्वकर्ता नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कै शीर्ष नेताहरूको नाम जोडिएको यो घटनामा ओसारपसार र व्यवस्थापनको काम गर्दै आएकाहरूलाई पक्राउ गरे पनि यसका मालिकको पत्ता लाग्न किन सकेन भन्ने प्रश्न उठेको छ ।

गत साउन २ मा अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा पक्राउ गरिएका दावा छिरिङ ‘व्यवस्थापक’को भूमिकामा रहेको सीआईबीले निष्कर्ष निकालेको छ । सीआईबीका अनुसार हङकङबाट चिनियाँ तस्करले ल्याउने सुन काठमाडौं उपत्यकामा व्यवस्थापन गर्ने काममा दावाको संलग्नता रहेको छ । माओवादी केन्द्रका नेताहरू र तीनका छोराहरूको नाम जोडिएको उक्त प्रकरणमा कसको लगानी थियो भन्ने अझै पुष्टि भइनसकेको सीआईबीका अधिकारीहरू बताउँछन् ।

सो प्रकरणमा बयानका लागि बोलाइएका नेतापुत्र दीपेश पुनलाई समेत कारबाही हुनेमा शंका उत्पन्न भएको छ । त्यस्तै, अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई दावा छिरिङसँग सम्बन्ध नदेखेको भन्दै बयान लिएर फर्काएको छ भने माओवादी नेताहरू वर्षमान पुन, नन्दकिशोर पुनसहित उनीहरूसँग जोडिएकालाई प्रहरीले माथिको दबाबमा अनुसन्धानको दायरामा ल्याउन नसकेको भन्दै सत्तारुढ गठबन्धन र प्रतिपक्षी दलका सांसदहरूले नै टिप्पणी गर्दै आएका छन् ।

नेपालमा सुन तस्करीमा संलग्न केही चिनियाँ देश फर्किसकेको पाइएपछि त्यहाँको पनि सहयोग लिन इन्टरपोल शाखामार्फत् सीआईबीले इन्टरपोललाई पत्राचार गरेको जानए पनि ठूला तस्करहरू फेला पार्न सकेको छैन । सीआईबीका अनुसन्धान अधिकृतहरूका अनुसार सुनमा दावाको लगानी पुष्टि भएको छैन । काठमाडौंमा बसेर परी आउँदा ‘जे पनि गर्ने’ स्वभावका दावाले सुन तस्करीमा संलग्नहरूका लागि फ्ल्याट खोजिदिने, युवती मिलाइदिने र ठमेलस्थित होटल भियानामा खाने–बस्ने व्यवस्था मिलाउने गरेका थिए । होटेल भियना उनकी पत्नी अमला रोकाको नाममा छ । अनुसन्धानमा संलग्न एक जना अधिकृतका अनुसार अवैध सुनको व्यवस्थापन र सुन तस्करीहरूको सेवा सुविधाको व्यवस्था गरिदिएबापत दावाले सुन कारोबारीबाट कमिसन लिने गरेको छ । लामो समयदेखि काठमाडौंमा बस्दै आएका दावालाई राजस्व अनुसन्धान विभागको टोलीले गत साउन १४ मा पक्राउ गरेको थियो ।

क्याथे प्यासिफिक एयरलाइन्सको हङकङ–काठमाडौं उडानबाट ठूलो परिमाणमा सुन काठमाडौं भित्रिएको सूचना प्राप्त भएपछि राजस्वको टोलीले गत साउन २ मा ब्रेक सुमा लुकाएर ल्याएको सुनसहित १ सय ५० किलोभन्दा बढी धातु बरामद गरेको थियो । यो खबर नेपाल समाचारपत्रबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *