चक्रपथमा त्रुटि नै त्रुटि

Sharing is caring!

पुस ९, २०७५ । सातदोबाटोबाट कोटेश्वरतर्फ जाँदै गरेको ट्रिपरले शनिबार राति बिजुली पोलमा ठक्कर दियो । चक्रपथ सडकमा दुर्घटना यो पहिलो होइन ।

यसअघि एकान्तकुनामा ना६ख २७८० नम्बरको ट्रकले किचेर बा६७प ४०८३ नम्बरको मोटरसाइकलमा सवार सरला मिश्रको घटना स्थलमै मृत्यु भएको थियो ।

महालक्ष्मीस्थानमा बाटो काट्नेक्रममा ५७ वर्षीय फुर्मामंगल शेर्पालाई बा३ख ३६०६ नम्बरको बसले ठक्कर दियो । शेर्पाको उपचारका क्रममा अस्पतालमा मृत्यु भयो । चक्रपथ सडकमा ९ जनाले ज्यान गुमाइसकेका छन् । धेरै सर्वसाधारणअंगभंग भएका छन् ।

तिखेदेवलमा बस्ने सप्तरीका अरविन्द मण्डल भन्छन्, ‘कामबाट फर्केर महालक्ष्मी चोक पुग्दा राति ८ बज्छ । सडक बत्ती नभएकाले अँध्यारोमा डराई–डराई बाटो काट्नुपर्ने बाध्यता छ ।’ तीन महिनाअघि राति घर फर्कंदा मोटरसाइकलको ठक्करबाट घाइते बनेका उनी सम्झन्छन्, ‘चालकले फराकिलो सडक भएकाले गाडी तीव्र गतिमा गुडाउँछन् ।

हेडलाइट कम हुने सावरी चालकले टाढाबाट बाटो काट्नेलाई देख्दैन । नजिक आइपुग्दा ब्रेकले भ्याउँदैन । अनि दुर्घटना हुन्छ ।’ सप्तरीकी ६० वर्षीया विगी मण्डलले सहायताबिना बाटो काट्न मुस्किल पर्ने सुनाइन् ।

चिनियाँ ठेकेदार कम्पनी संघाई कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको १७ किमि लम्बाइको ८ लेन सडकका त्रुटि केलाएर साध्यै छैन । कोटेश्वर–कलंकी सडकको चौडाइ ५० मिटर छ । फराकिलो भए पनि बाटो काटदा बीचमा अडिने ठाउँ छैन । सर्वसाधारणको भीड हुने चोकमा बाटो काट्न न जेब्रा क्रसिङ छ न त आकाशे पुल नै बनाइएको छ ।

बटुवा जोखिम मोलेर बाटो काट्न बाध्य छन् । फुटपाथ, साइकल लेन, मिडियन, हरित क्षेत्र, पर्याप्त बस स्टप, पार्किङ लट बनेकै छैनन् । सुरक्षाका दृष्टिकोणले अपनाउनुपर्ने ट्राफिक चिह्न, लाइट, सडकको दायाँबायाँ बार र रोड डिभाइर पनि राखिएको छैन ।

सातदोबाटो, चापागाउँ दोबाटो, महालक्ष्मी स्थान, एकान्तकुना, बागडोललगायत स्थानमा बस स्टप नहुँदा यात्रु सडकबाटैचढ्न/ओर्लन बाध्य छन् ।

यसले पैदल यात्रु बढी मर्कामा छन् । सडकमा प्रतिघण्टा ५० किमिको गतिमा आएको गाडीले ठक्कर दिँदा मानिसको मृत्यु हुने सम्भावना ६० प्रतिशत र ३० किमि प्रतिघण्टाको गतिमा आएकाले ठक्कर दिँदा मृत्यु हुने सम्भावना १० प्रतिशत हुन्छ । नेपाल सडक मापदण्ड ०७१ अनुसार पिडिसट्रेइन (बाटो काटदा बीचमा अडिने ठाउँ) कम्तीमा १.८ मिटर हुनुपर्ने कानुनी प्रावधान छ ।

अहिले बनिरहेको चक्रपथमा ड्रेन, फुटपाथ र साइकल लेनसहित गरेर २.५ मिटर मात्र छ । सडक दुर्घटनाका कारणमध्ये यो पनि एक भएको सरोकारवालाले बताएका छन् । वातावरणविद् इन्जिनियर भूषण तुलाधार भन्छन्, ‘नेपाल र चिनियाँ सरकारबीच चक्रपथ बनाउन भएको सम्झौतामा भने साइकल लेन रहने व्यवस्था छ । नेपाल सडक मापदण्ड ०७१ अनुसार पनि सडकको दायाँबायाँ न्यूनतम १.२ मिटरको साइकल लेन र न्यूनतम १.५ मिटरको फुटपाथ हुनुपर्ने व्यवस्था छ ।

तर, त्रुटिबारे चक्रपथ सुधार योजना र सडक विभागका इन्जिनियरलाई जानकारी हुँदा पनि गम्भीर देखिएनन् ।’ उनका अनुसारचक्रपथको गति ५० किमि प्रति घण्टा तोकिएको छ । ‘तर, गति अनुसारको सुरक्षा व्यवस्था अपनाइएको छैन,’ उनले भने । चक्रपथ सुधार योजनाका इन्जिनियर निरञ्जन शर्मा सुधारको आवश्यकता सडक विभागलाई गराइसकेको बताउँछन् । ‘विभागबाट स्वीकृति भएर आएको छैन,’ उनले भने, ‘हामीले चाहेर सुधार गर्न सकिँदैन ।’ उनले दुर्घटनाका कारण सडकलाई मात्र दोष दिन नमिल्ने दाबी गरे ।

‘ट्राफिक व्यवस्थामा पनि कमीकमजोरी छ । बढी सवारी साधन हाक्नेलाई कडा कारबाहीको व्यवस्था छैन,’ उनले भने, ‘यो सहरी सडक नभई एक्सप्रेस वे हो । ट्राफिक जामलाई मध्यनजर गरेर बनाइएको यस्तो भएको हो ।’ उनले आवश्यकताअनुसार ठाउँ–ठाउँमा बार लगाइरहेको बताए । ‘सडकको बीच भागमा मिडिएटर राखिनेछ,’ उनले भने ।

चक्रपथमा सडक रेखांकन चित्र, डिभाइडर पनि छैन । सडक विभाग योजना तथा वैदेशिक सहयोग महाशाखा प्रमुख केशव शर्माले चक्रपथमा भएका त्रुटि सुधार गर्न प्रस्तावना तयार भइरहेको बताए । ‘साइकल लेन, हरित क्षेत्र, फुटपाथ बनाउने योजना छ,’ उनले भने ।यो खबर कान्तिपरबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *