नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा कार्कीको उम्मेदवारी घोषणा

Sharing is caring!

असोज ३, २०७५ । नेपाल निर्माण व्यवसायी महासंघको २० औं साधारण सभा र ११ औं अधिवेशनमा यक्षध्वज कार्कीले अध्यक्ष पदका लागि आज आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै कार्कीले अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । महासंघको संस्थापक सदस्य भई स्थापना कालदेखिनै महासंघ एवम् व्यवसायीहरुको हकहित र गरिमाका लागि आफू निरन्तर लागिपरेको उनको जिकिर छ ।
अहिलेको परिवेशमा निर्माण व्यवसायप्रति सरकारी निकाय नागरिक समाजलगायत सम्पूर्ण क्षेत्रबाट बदनाम र नकरात्मक सोच भई समाजमा स्थापित् हुन कठिनाई भैरहेको तितो सत्य सुनाउँदै कार्कीले भने,‘महासंघको उद्देश्यमानै धक्का पुग्ने अवस्था भएकोले म पूनः अध्यक्षमा उठेको छु । समयमै काम सम्पन्न गर्ने गुणस्तरीय काम गर्ने अवस्था सिर्जना गर्छु ।’
उनले महासंघको नेतृत्वमा पुग्न रहरले नभएर समय र परिस्थितिले ल्याउने कुरा भएको पनि स्पष्ट पारे । उनले भने,‘व्यवसायीहरुको उत्थान गर्ने हो । सरकारसँग हातेमालो गरेर विकास निर्माणको कामहरु सम्पन्न गर्ने हो । जनतासँग नजिक रहने हो ।’
उनले आफूविरुद्ध अध्यक्षको लागि मैदानमा उत्रिएका साथीहरुप्रति आफ्नो कुनै गुनासो नरहेको पनि स्पष्ट पारे । उनले भने,‘क्षमता, योग्यता, मत र विश्वासले नेतृत्वमा पुग्ने हो । १२ हजार ५ सय प्रतिनिधि साथीहरु हुनुुहुन्छ, उहाँहरुको मतले म जित्नेछु ।’
कार्कीसँग महासंघको दुई कार्यकाल सचिव, एक कार्यकाल प्रथम महासचिव, एक कार्यकाल प्रथम उपाध्यक्ष, सल्लाहकार हुँदै अध्यक्ष भएर काम गरेको अनुभव छ । पत्रकार सम्मेलनमा कार्कीले आफ्नो कार्यकालमा प्राप्त भएका विविध उपलब्धिहरुसमेत सुनाएका थिए ।
जसमध्ये पिछडिएको क्षेत्र, मधेश, जनजाति, विकास क्षेत्र (हाल प्रदेश), जिल्लाको प्रतिनिधित्व हुनेगरि नेपाल निर्माण व्यवसायी महासंघको विधान संशोधनको लागि महत्वपूर्ण भूमिका खेलेको, प्रचलित बोलपत्रमा भएका प्रावधानलाई सरलीकरण गर्न सफलता प्राप्त गरेको (जसमा टर्नओभर २.५ गुणाबाट १.५ गुणामात्र कायम भएको, सेम नेचर सर्टिफिकेट १०० प्रतिशतबाट ८० प्रतिशतमा कायम भएको, र सेम नेचर सर्टिफिकेट ३ वटा चाहिनेमा १ वटा भए पुग्नेगरि कायम भएको), निर्माण दिवस मनाउने र एफक्यान अवार्डको सुरुवात गरेकोलगायत रहेका छन् ।
कार्कीले आफूले योग्य, सक्षम र क्षमतावान साथीहरुलाई समेटेर चाँडै टिम खडा गर्ने पनि जानकारी दिए । उनले भने,‘आज मेरोमात्रै उम्मेदवारी घोषणा भएको छ । अब सबै पक्षसँग छलफल गरेर हामी हाम्रो टिम घोषणा गर्छौं । अहिले हामी छलफलमै व्यस्त छौं ।’
कार्यक्रममा पूर्व सांसद एवम् बरिष्ठ निर्माण व्यवसायी जनार्दन ढकालले कार्की महासंघको लागि सक्षम र योग्य उम्मेदवार रहेको भन्दै उनको जीत सुश्चित् रहेको बताए । उनले भने,‘सार्वजनिक खरिद नियामावली हामीले संशोधन गर्न सकेनौं । अब, कार्कीजीले यसको लागि महत्वपूर्ण भुमिका निर्वाह गर्न सक्नुहुन्छ ।’
ढकालले आफ्नो समूहको जीत सुनिश्चत भएपनि आफूलाई लोकतान्त्रिक भन्ने शक्तिहरु बढि पैसामा चलखेल गर्ने भएकोले सचेत रहनुपर्ने बताए ।
त्यस्तै महासंघका मानार्थ सदस्य सुरेश श्रेष्ठले कार्की त्यागी, क्षमतावान र साहसी उम्मेदवार भएकोले उनको जीत सुनिश्चत् रहेको जिकिर गरे । राजनीतिक रुपमा पनि कार्की जानकार र सबै व्यवसायीहरुलाई मिलाएर लैजान सक्ने व्यक्ति भएको बताउँदै उनले भने,‘उहाँ मिलनसार हुनुहुन्छ । उहाँले सबैलाई मिलाएर लैजान सक्नुहुन्छ । त्यसैले हामी सबैले एक ढिक्का भएर कार्की नेतृत्वको टिमलाई जिताउनुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *