नेकपा सचिवालय, दाहालको अध्यक्षतामा आज पहिलोपटक बैठक

Sharing is caring!

भदौ ९, २०७६ । पार्टी एकताको १५ महिनापछि पहिलोपटक नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा आज (सोमबार) बस्दै छ । यसअघिका बैठकको अध्यक्षता प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले गर्दै आएका थिए । उनी उपचारका लागि सिंगापुरमा रहेकाले पहिलोपटक एक अध्यक्षको अनुपस्थितिमा अर्का अध्यक्षको अध्यक्षतामा बैठक बस्न लागेको हो ।

नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सोमबार १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बोलाइएको छ ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले दाहाललाई उपचारका लागि सिंगापुर जानुअघि पार्टीको बैठक, निर्णयलगायतका काम सहमतिमा गर्न जिम्मेवारी दिएका थिए । सोहीअनुसार अध्यक्ष दाहालले वरिष्ठ नेता माधवकुमार नेपालसँग समेत छलफल गर्दै सचिवालय बैठक बोलाएका हुन् ।

बैठकमा पार्टी एकताको बाँकी काम टुंगो लगाउने, टुंगो लागेको कमिटीलाई सक्रिय बनाउने र जागरण अभियानको विषयमा छलफल गरिने एजेन्डा राखिएका छन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको १५ महिना बित्दा समेत अहिलेसम्म पोलिटव्युरो कमिटी, आयोग, मञ्च, प्रवास कमिटीसहित केही केन्द्रीय सदस्यहरूको कार्यविभाजन टुंगो अझै लागेको छैन ।

सचिवालय, केन्द्रीय कमिटी, प्रदेश कमिटी, जनवर्गीय संगठनको नेतृत्व जिम्मेवारी बाँडफाँटलगायतका एकताका काम सकिएको छ । एकता भइसकेको संगठनलाई सक्रिय बनाउने र एकता हुन बाँकी कमिटीको कसरी टुंगो लगाउने भन्ने विषयमै केन्द्रित भई अध्यक्ष दाहाल पछिल्लो समय झन् सक्रिय भएका छन् ।

नेकपा स्थायी कमिटीका सदस्य गणेश साहले एकताको बाँकी काम टुंगो लगाउँदै पार्टीले देशैभर जागरण अभियान गर्ने तयारी पार्टीले गरेको छ । एकताको धेरै काम टुंगो लागिसकेको बताउँदै उनले केही बाँकी काम समेतलाई सकेर छिट्टै नै जागरण अभियानको घोषणा गरिने बताए ।

‘सचिवालय बैठक बोलाइएको छ । बैठकमा यही विषयमा छलफल हुनेछ,’ साहले भने, ‘टुंगो लगाउन बाँकी काम सकेर जागरण अभियान कसरी प्रभावकारी रूपमा सञ्चालन गर्ने ? त्यसको तयारीमा हामी छौं ।’

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीसँग असन्तुष्ट वरिष्ठ नेता नेपाललाई फकाउँदै अध्यक्ष दाहालले एकताको बाँकी काम टुंगो लगाउने तयारीमा जुटेका हुन् । प्रधानमन्त्री ओलीको पार्टी एवं सरकार सञ्चालन शैलीप्रति असन्तुष्टि व्यक्त गर्दै नेता नेपालले सात बुँदे असहमति पत्र पार्टीमा बुझाएका छन् । गत बिहीबार बसेको सचिवालय बैठकमा समेत ओली र नेपालबीच चर्काचर्की भएपछि सम्बन्ध चिसिएको छ ।

ओली र नेपालबीच सम्बन्ध चिसिएसँगै दाहाल सक्रिय भएका हुन् । सचिवालय कमिटीमा तत्कालीन एमालेका उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र उपमहासचिव घनश्याम भुसाललाई ल्याउनुपर्ने अडानमा नेपाल छन् ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकीकरणपश्चात् नेताहरूको जिम्मेवारी बाँडफाँटमा समेत असन्तुष्ट नेता नेपालले आफ्नो वरीयता हेरफेरमा चित्त दुखाएका छन् ।

नेकपा स्रोतका अनुसार पोलिटब्युरो गठनका लागि तत्कालीन एमालेका तर्फबाट नामावली तयार भए पनि तत्कालीन माओवादी केन्द्रका तर्फबाट नामावली टुंगो लाग्न नसक्दा ढिलाइ भएको छ ।

नेकपामा ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी छन् । पार्टीको अन्तरिम विधानअनुसार केन्द्रीय कमिटीको एक तिहाइ अर्थात् १ सय ४७ जनाको पोलिटब्युरो कमिटी बनाउनुपर्छ । जसमा तत्कालीन एमालेलाई ८१ र माओवादीलाई ६६ जना भागबन्डा गर्ने सहमति शीर्ष नेताबीच यसअघि नै भइसकेको छ । यो खबर राजधानीबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *