डा. केसीसँग वार्ताको वातावरण बनाउँदै सरकार

Sharing is caring!

असार ३०, २०७५ । १४ दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीका मागबारे छलफल गर्न सरकार तयार देखिएको छ । जुम्लामा अनशनरत केसीको स्वास्थ्य थप कमजोर बन्दै गएपछि सरकार गम्भीर बनेको हो ।

केसीको माग सम्बोधन गर्ने सवालमा सरकारी पक्षबाट वार्ताको वातावरण बनाउन शुक्रबार दिनभरजसो प्रयास भएको केसीका सहयोगीहरूले बताए । सरकारी पक्षले गरेको प्रयासबारे डा. केसीलाई पनि जानकारी गराइएको छ । सरकार वार्ताका लागि अग्रसर देखिएको केसीपक्षीय डा. अभिषेक सिंहले बताए ।

दुवै पक्ष अलमलमा
सरकार र डा. केसी पक्ष वार्ताका विषयमा टुंगो लगाएर काठमाडौं आउने कि काठमाडौं आएपछि मात्रै टुंगो लगाउने भन्ने अलमलमा छन् । सरकार केसीलाई काठमाडौं ल्याएर स्वास्थ्य सहज बनाएपछि वार्ताको प्रक्रिया सुरु गर्ने सुरमा छ । तर, केसी पक्ष भने वार्ताबारे निश्चित भइसकेपछिमात्रै काठमाडौं ल्याउने अडानमा छ । प्रधानमन्त्रीले केसीसँग वार्ताको वातावरण मिलाउन जिम्मा दिएका एक नेताले चरणबद्ध रुपमा प्रयास गरिरहेका छन् ।

स्वास्थ्य जाँच गर्न अस्वीकार
डा. गोविन्द केसीले स्वास्थ्य जाँच गर्न अस्विकार गरेका छन् । आफूले औपचारिक वार्ताका लागि पहल गरेको ३ दिन बितिसक्दा पनि सरकारले वार्ताका लागि गम्भीर चासो नदेखाएको भन्दै आक्रोशित भएका हुन् । उनले शुक्रबार स्वास्थ्य परीक्षण गर्न गएका चिकित्सकहरुलाई स्वास्थ्य जाँच नगर्न भने ।

‘मलाइ मरे मरोस भनेर सरकारले सोचेको रहेछ । आखिर त्यस्तै हो भने म पनि आज उपरान्त कुनै स्वास्थ्य परीक्षण र उपचार गराउदिनँ,’ केसीले भने । तीन करोड नेपालीको हितका लागि लड्दै गर्दा मृत्युवरण गर्नु परे पनि आफू तयार रहेको उनले बताए । सास फेर्न गार्हो हुने, बोल्दा सास बढ्ने, उठेर बस्न गार्हो हुने समस्या देखिएका केसीलाई नाकबाट कृतिम अक्सिजन दिइएको डा. पुजन रोकायाले जानकारी दिए । १४ दिनमा केसीको तौल ९ केजी घटिसकेको उनले बताए ।

काठमाडौं ल्याएर झुलाइने हो कि भन्ने केसी पक्षको आशंका
सरकारले माग पूरा गर्ने वातावरण तयार गरे डा. गोविन्द केसी जुम्लाबाट काठमाडौं आउन तयार देखिएका छन् । तर, काठमाडौं ल्याइसकेपछि झुलाउन सक्ने चिन्ता केसी पक्षलाई छ । सरकार अझै वार्ताका लागि गम्भीर नभएको बुझाइ डा. केसीको छ । डा. सिंहले भने, ‘सरकार केसीसँग वार्ता गर्न शुक्रबार निकै चासो दिएर लागेको छ । हामीसँग विभिन्न चरणमा कुरा भएका छन् । तर, केसीलाई काठमाडौं ल्याइसकेपछि झुलाउने हो कि भन्ने चिन्ता हामीलाई छ ।’ सरकारले वातावरण बनाए केसीलाई काठमाडौं ल्याउन आफूहरू तयार रहेको डा. सिंहले बताए ।यो खबर आजको नयाँ पत्रिकाबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *