नयाँ स्वरूपमा मानव बेचबिखन तथा ओसारपसार, निसानामा शिक्षित र प्रविधिमा पहुँच राख्ने युवा पुस्ता

Sharing is caring!

भदौ २१, २०७६ । पछिल्लो समयमा मुलुकमा मानव बेचबिखन तथा ओसारपसारको जालोले गम्भीर चुनौती सिर्जना गरेको पाइएको छ । ओसारपसारको धन्दाका रूपहरू फेरिँदै जान थालेपछि यसले ठूलो चुनौती थपिदिएको हो । यस्ता गतिविधिमा राष्ट्रिय-अन्तर्राष्ट्रिय गिरोहको सक्रियता र निसानामा शिक्षित तथा प्रविधिमा पहुँच राख्ने युवा पुस्ता नै पर्न थालेको सरकारी अधिकारीहरूले बताएका छन् ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार पछिल्लो समय वैदेशिक रोजगारी, ग्रिन कार्ड, पीआरको प्रलोभनमा परेर राम्रो जीवनशैली र आर्थिक उर्पाजनको बाटो खोजिरहेका शिक्षित वर्गका युवायुवती नै तस्करीको निसानामा पर्ने गरेका छन् । ब्युरोका एसपी गोविन्द थपलियाका अनुसार यस्ता गतिविधिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपबाट संगठित अपराधीहरूको संलग्नता रहने गरेको छ । पछिल्लो समय सामाजिक सञ्जालसमेत मुख्य चुनौती बनेको उनको भनाइ छ । ‘हामीले ब्युरो गठन गरेको चार महिनाको अवधिमा भारत, लिबिया, इराक, ग्रिस, केन्या, इन्डोनेसियालगाायतका देशबाट २६० जनाको उद्धार गरिसकेका छौं ।’ संगठित गिरोहले विभिन्न प्रलोभन तथा बहनामा उनीहरूलाई विभिन्न देशमा पु¥याएको एसपी थपलियाले बताए ।

ब्युरोले केही समयअघि मात्र विवाह गरेर नेपाली युवती तस्करी गर्ने चिनियाँ गिरोहको धन्दा पर्दाफास गरेको थियो ।
परम्परागत रूपमा कमाराकमारी, बधुवा मजदुरका रूपमा श्रम शोषण तथा दासका रूपमा यस्ता गतिविधि हुने भए पनि पछिल्लो समय आधुनिक दासताका रूपमा मानव बेचबिखन तथा ओसारपसार बढेको सरोकारवालाहरूको भनाइ छ । उनीहरूका अनुसार पछिल्लो समय तस्करहरूले वैदेशिक रोजगारी, शिक्षा, विवाह, स्वास्थ्य तथा मनोरञ्जनलगायतका गतिविधिमार्फत मानव तस्करीका धन्दा सञ्चालन गर्ने गरेका छन् ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार विगतमा भारतका कोठीमा लगेर चेलिबेटीे बेचबिखन गर्ने कामलाई मात्रै मानव बेचबिखनका रूपमा लिइने गरिन्थ्यो ।

मन्त्रालयको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण शाखाकी अधिकृत कोपिला राईका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा १ हजार १९७ जनाको विभिन्न देशबाट उद्धार गरिएको थियो । पछिल्लो वर्षमा उद्धार गरिएकाको संख्या झनै बढेको अधिकृत राईले बताइन् । मानव बेचबिखन तथा ओसारपसारमा चुनौती थपिएसँगै नेपाल प्रहरीले मानव बेचबिखन अनुसन्धान ब्युरो गठन गरेर नियन्त्रणका विभिन्न रणनीति बनाउँदै आएको छ । यो खबर राजधानीबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *