धान उत्पादनको लक्ष्य भेट्न मुस्किल

Sharing is caring!

असार १५, २०७६ । १५ असारमा देशभर राष्ट्रिय धान दिवस मनाइँदै छ । रोपाइँ जात्रा, हिलो खेल्ने, दही चिउरा खाने जस्ता नामले १५ असार प्रख्यात छ । २०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेका थिए । राष्ट्रसंघले धान वर्ष घोषणा गरेपछि नेपालले पनि राष्ट्रिय धान दिवस मनाउने निर्णय गरेको थियो ।

२९ मंसिर २०६१ मा मन्त्रिस्तरीय निर्णय गरी १५ असार २०६२ देखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । यो दिवसलाई राष्ट्रिय रूपमा मनाउने राष्ट्रसंघका सदस्य राष्ट्रमध्ये नेपाल एउटै रहेको धान विज्ञ भोलामानसिंह बस्नेतले जानकारी दिए ।

विश्वको जनसंख्याको आधा मानिसको मुख्य खाना नै चामल हो । ९० प्रतिशत धान एसियामै उत्पादन हुने गर्छ । उत्पादनको आधा एसियामै खपत हुने गरेको छ । नेपालमा धानको उत्पादन वृद्धि हुँदा आर्थिक वृद्धिदर बढ्ने गरेको धान विज्ञ बस्नेतको भनाइ छ ।

नेपालमा अधिकांशको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै धान छुपुछुपु रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौंला, बनाई कुलो लगाई पानी आएर गोडौंला’ जस्ता गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।

मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यस बेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।

आगामी आर्थिक वर्षमा सरकारको धान उत्पादन लक्ष्य पूरा हुन कठिन छ । समयमा धान रोपाइँ हुन नसक्नु, अनुकूल मौसम नहुनु र पर्याप्त मात्रामा किसानलाई रासायनिक मल नहुँदा धान उत्पादनको लक्ष्य भेट्न मुस्किल भएको हो । सरकारको आगामी आर्थिक वर्षमा ७० लाख मेट्रिक टन धान उत्पादन हुने लक्ष्य लिएको छ । यो लक्ष्य भेटाउन चालू आर्थिक वर्षको तुलनामा १५ लाख मेट्रिक टन बढी धान उत्पादन गर्नुपर्छ । तर, यस वर्षको मौसम र रासायनिक मल अभावका कारण लक्ष्य भेट्न मुस्किल हुने धान विज्ञको भनाइ छ । यो खबर राजधानीबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *