पुलिसलाई हराउँदै संकटा दोस्रो स्थानमा

Sharing is caring!

मंसिर १९, २०७५ । घरेलु लिगको सफल टोली नेपाल पुलिस क्लबलाई स्तब्ध बनाउँदै संकटा क्लब पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ । छैटौं चरणअन्तर्गत एन्फा कम्प्लेक्स मैदानमा मंगलबार भएको खेलमा संकटाले पुलिसलाई २–१ गोलले हरायो ।

संकटासँगको नमीठो हारले पुलिसको अगाडि यात्रामा धक्का लागेको छ । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले पहिलो हाफमा गोल गरेका थिए । संकटाले २९औं मिनेटमा रक्षक सरोज दाहालको गोलमा अग्रता लिएको थियो । सरोजले लक्ष्मण रुचालको कर्नर पासमा अनमार्क हेड गोल गरेका थिए । पुलिससँग जोसिलो खेल खेलेको संकटाले ३७औं मिनेटमा दोस्रो गोल गरेको थियो ।

मध्यभागबाट एक्लै बल दौडाएका दीपेश आलेमगरले पुलिसका गोलरक्षक शत्रुधन चौधरीसँग वान भर्सेस वानमा गोल गर्दै संकटाको अग्रता दोब्बर बनाए । दुई गोलपछि रक्षात्मक देखिएको संकटामाथि पुलिसले ३९औं मिनेटमा एक गोल फर्कायो । पुलिसका रविशंकर पासवानले पोस्ट नजिकबाट गोल गरे । उनले अभिषेक रिजालको पासमा वानटज जाली चुमाएका थिए । मध्यभागमा राम्रो देखिएको पुलिसको अग्रपंक्ति कमजोर देखिएको थियो । संकटाले दोस्रो हाफमा थप गोल गर्ने अवसर बनाए पनि सफल हुन सकेन । जितसँगै ६ खेलबाट १५ अंक बनाएको संकटा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको मनाङ मस्र्याङ्दी समान १५ अंकका साथ शीर्ष स्थानमा छ । यसअघि १० अंक बनाएको पुलिस पाँचौं स्थानमा छ ।यो खबर अन्नपूर्ण पोस्टबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *