खस्कँदै विदेशी लगानी, उद्योगमा १६ प्रतिशतले घट्यो

Sharing is caring!

मंसिर १९, २०७५ । उद्योग क्षेत्रमा हुने वैदेशिक लगानी खस्किँदै गएको छ । सरकारले विदेशी लगानीकर्तालाई नेपालका उद्योगमा लगानी बढाउन आग्रह गरिरहँदा विदेशी लगानी भने निराशाजनक छ ।
उद्योग विभागको तथ्यांकनुसार गत वर्षको तुलनामा यस वर्ष उद्योग क्षेत्रमा विदेशी लगानी झन्डै १६ प्रतिशतले घटेको छ । विभागको तथ्यांकनुसार गत आर्थिक वर्ष २०७४÷७५ को १३ मंसिरसम्ममा उद्योग क्षेत्रमा विदेशी लगानी १५ अर्ब १९ करोड ७२ लाग ३० हजार रुपैयाँ थियो । चालू आर्थिक वर्षको सोही अवधिमा यो लगानी घटेर १३ अर्ब १० करोड ८८ लाख ३० हजार रुपैयाँमा झरेको छ ।
विभागको तथ्यांकनुसार आर्थिक वर्ष २०७५÷७६ को १३ मंसिर र गत आर्थिक वर्षको सोही अवधिको तुलना गर्दा विदेशी लगानी १५ दशमलव ९३ प्रशितले घटेको छ । उद्योग क्षेत्रमा विदेशी लगानी घट्दै गए पनि उद्योगको दर्ता संख्या भने बढ्दै गएको छ ।
गत वर्षको तुलना गर्दा यस वर्ष विदेशी लगानीका उद्योग दर्ताको संख्या भने १८ दशमलव ५१ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७४÷७५ को १३ मंसिरसम्ममा १३२ उद्योग दर्ता भएका थिए भने सोही अवधिमा चालू आर्थिक वर्षमा १६२ वटा उद्योग दर्ता भएका छन् ।

उद्योग विभागमा विदेशी लगानीका विभिन्न प्रकृतिका उद्योग दर्ता हुँदै आएका छन् । कृषिजन्य, निर्माण, ऊर्जामूलक, सूचना प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, खनिज, सेवामूलक तथा पर्यटन उद्योगमा बढी आकर्षण देखिन्छ ।
चालू आर्थिक वर्षको १३ मंसिरसम्मको तथ्यांकनुसार विभागमा दर्ता भएका विदेशी लगानीका उद्योग सबैभन्दा धेरै पर्यटन र सेवामूलक छन् । विभागमा दर्ता विदेशी लगानीका १६२ उद्योगमध्ये पर्यटन उद्योग ५९ वटा दर्ता भएका छन् ।
सेवामूलक उद्योग भने ५५ वटा दर्ता भएका छन् । यसैगरी, उत्पादनमूलक उद्योग २८ वटा सूचना प्रसारण तथा सञ्चार प्रविधिमा १२ वटा दर्ता भएका छन् । कृषिजन्यमा पाँचवटा निर्माण एक खनिजमा दुईवटा उद्योग दर्ता भएका छन् ।

पछिल्लो समयमा उद्योग विभागमा दर्ता हुन आउने विदेशी लगानीका उद्योग संख्यामा मात्र बढ्ने र लगानी घट्दै जानु भनेको नेपालमा अझै औद्योगिक वातावरण बन्न नसकेको विभागका सूचना अधिकारी जीवनराज सुवेदीले बताए । उनले विदेशी लगानी संख्यामा बढ्दै जाने र लगानीमा घट्दै जानु भनेको विदेशी लगानीकर्तालाई नेपालमा लगानी सुरक्षित महसुस नहुनु भएको बताए । उनले भने, ‘पछिल्लो समयमा स्थानीय सरकार आइसक्दा पनि उद्योग क्षेत्रमा विदेशी लगानी घट्नु भनेको अझै पनि नेपालमा औद्योगिक वातावरण बन्न सकेको छैन भन्नु हो ।’
सरकारले सोचेअनुसारको विदेशी लगानी नभित्रिनुको मुख्य कारण सरोकारवाला निकायको नियमन र अनुगमनमा भएको कमजोरी हो ।
‘अनुगमन र नियमन नगरेका कारणले नै अहिले के कति उद्योग सञ्चालनमा छन् र कतिले अनुमति लिएअनुसार उद्योग सञ्चालन गरिरहेका छन् कि छैन यसको हामीलाई कुनै जानकारी छैन,’ उनले भने । विदेशी लगानी बढाउन सरकारले विद्यमान झन्झटिला प्रक्रिया तथा नीतिमा संशोधन गर्नुपर्ने उनको धारणा छ ।पुर्व उद्योग मन्त्री नविन्द्रराज जोशीले नेपालमा हाल लगानी गर्ने सुरक्षित वातावरण नभएकाले वैदेशिक लगानी खस्कने क्रम बढेको बताए । यो खबर राजधानीबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *