एमाले र माओवादी एकता भारतको ईशारामाः वैद्य

Sharing is caring!

जेठ ५, २०७५ । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले वाम एकता भारतको ईशारामा भएको आरोप लगाएका छन् । ओखलढुंगाको सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा उनले पुरानो राजसंस्थाको झल्को दिनेगरी भारतको ईशारामा एमाले र माओवादी केन्द्रको एकता भएको बताए ।
उनले आफ्नो पार्टी वाम एकताका विरुद्ध उभिने भन्दै क्रान्तिकारी धारमा रहेका कम्युनिष्ट पार्टीबीच एकताको प्रयास भइरहेको जानकारी दिए ।

उनले मोहनविक्रम सिंहको नेकपा मसाल र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग एकताको लागि छलफल भइरहेको बताएका हुन् । छलफल भएपनि तत्काल पार्टी एकता घोषणा हुने सम्भावना नरहेको उनले सुनाए ।

वैद्यले एकताका नाममा माओवादी केन्द्र एमालेमा विलय भएको टिप्पणी गरे । उनले जनयुद्धबाट उदाएको शक्ति विभाजित भएर एमालेमा विलय भएको बताए । प्रचण्ड र ओलीले पार्टीको नामाकरण गर्दा अर्को पनि नेपाल कम्युनिष्ट पार्टी छ भन्ने सम्म भुलेको भन्दै वैद्यले नेपालमा एउटै नामका तीनवटा कम्युनिष्ट पार्टी जन्मनु कम्युनिष्ट इतिहास विरोधी काम भएको बताए ।

‘अब नेपालको कम्युनिष्ट आन्दोलन एउटा अवसरवादी धार र अर्को क्रान्तिकारी धारको रुपमा अगाडि बढ्छ’, उनले भने, ‘समग्र क्रान्तिकारी, देशभक्त, सच्चा कम्युनिष्टलाई गोलबन्द गर्दै नयाँ जनवादी क्रान्तिका लागि हाम्रो शक्ति अघि बढ्नेछ भने अवसरवादी अर्थात् दक्षिणपन्थी धार सुशासन, समृद्धिको नाराका साथ सत्ताको पछि लागिरहनेछ ।’
उनी शनिबारदेखि ओखलढुंगाको मोलुङ गाउँपालिकामा सुरु हुने प्रदेशस्तरीय युवा प्रशिक्षण कार्यक्रमका लागि ओखलढुंगा आइपुगेका हुन् ।

जनयुद्धका एक नेता जेलमा र अर्का नेता सत्तामा हुनु दुखद् भएको उनले बताए । वैद्यले बालकृष्ण ढुंगेलको प्रसंग निकाल्दै जनयुद्धकालिन मुद्धा मेलमिलाप आयोग मार्फत टुङ्ग्याउने सहमति भएपनि सरकारले सहमतिको पालना नगरेको आरोप लगाए । उनले आफैंले नेतृत्व गरेको आन्दोलनका कार्यकर्ता जेलमा हुँदा त्यही पार्टीको नेता सरकारमा रहनु विचित्र भएको टिप्पणी गरे ।यो खबर आजको नयाँ पत्रिकमा छापिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *