करिब तीन हजार सुरक्षाकर्मी सहिद घोषणा

Sharing is caring!

माघ १८, २०७५ । सरकारले विभिन्न समयमा मृत्युवरण गरेका दुई हजार आठ सय सातजना राष्ट्रसेवकलाई सहिद घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विगतका जनआन्दोलन, सशस्त्र द्वन्द्व र मधेस आन्दोलनका क्रममा सहादत प्राप्त गरेका नेपाली सेनाका एक हजार १८, नेपाल प्रहरीका एक हजार  ४८, सशस्त्र प्रहरी बलका तीन सय १८ र राष्ट्रिय अनुसन्धान विभागका २३ जनालाई सहिद घोषणा गरेको हो ।

मन्त्रिपरिषद् बैठकले नेपाल खाद्य संस्थान र नेसनल ट्रेडिङ लिमिटेडलाई ‘मर्ज’ गरेर आपूर्तिसम्बन्धी काम गर्ने व्यवस्थाका लागि उपयुक्त नामसहित छुट्टै कम्पनीमा रूपान्तरण गर्न आवश्यक प्रक्रिया अघि बढाउन सैद्धान्तिक स्वीकृति दिएको सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले बताए ।

‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ संघीय संसद्मा पेस गर्ने स्वीकृति पनि मन्त्रिपरिषद्ले दिएको छ । राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ संशोधन गर्ने निर्णय गरिएको छ । पर्साको ठोरी गाउँपालिका केन्द्र र बोगटान गाउँपालिकाको नाम परिवर्तन गरिएको छ ।

यसैगरी, मन्त्रिपरिषद्को बैठकले कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्समक्ष पेस गर्न स्वीकृति दिएको छ । सुरक्षण मुद्रणसम्बन्धी विधेयक तर्जुमा गर्न तयार पारिएको अवधारणापत्र स्वीकृत गर्ने निर्णय गरिएको छ ।

जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र विकास समिति (गठन) आदेश, २०७० बमोजिम गठित तनहुँको दुलेगौँडास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समिति (गठन) आदेश, २०७३ बमोजिम गठित बाँकेको नेपालगन्जस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल संघअन्तर्गत यथावत् रहने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।यो खबर नयाँ पत्रिकाबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *