धमाधम भित्रिँदै विदेशी होटल ब्रान्ड

Sharing is caring!

असार १५, २०७६ । नेपालमा होटलहरूको व्यवस्थापनमा अन्तरराष्ट्रिय क्षेत्रमा ख्याति कमाएका हस्पिटालिटी कम्पनीका चेन ब्रान्ड भित्र्याउने क्रम बढिरहेको छ । पछिल्लो पटक चौधरी ग्रूप (सिजी) ले भारतको कन्सेप्ट हस्पिटालिटीको ‘द फर्न’ चेन ब्रान्ड भित्र्याउन उद्योग विभागमा निवेदन दिएको छ । होटल चेन ब्रान्ड भित्र्याएपछि नेपालमा सञ्चालन गर्न विभागको स्वीकृति चाहिन्छ ।

क्राउन प्लाजा, हायात रिजेन्सी, र्‍याडिसन, सांग्रिला, म्यारियट, भिभान्त, अल फ्ट, हायात सञ्चालनमा आइसकेका अन्तरराष्ट्रिय चेन ब्रान्ड हुन् । हाल निर्माणाधीन रहेका शेराटन र हिल्टन पनि अन्तरराष्ट्रिय चेन होटल ब्रान्ड हुन् । गत वैशाख २ गते काठमाडौंको नक्सालमा म्यारियट होटल सञ्चालनमा आयो । एमएस ग्रूपले प्रवर्द्धन गरेको उक्त होटलले सफ्ट लञ्च गरिसकेको छ । १३ रोपनी क्षेत्रफलमा बनेको उक्त होटलमा २१४ ओटा कोठा छन् । स्रोतका अनुसार होटलमा करीब रू. ४ अर्ब लगानी भएको छ ।

अर्काे नयाँ पाँच तारेस्तरको ‘अलफ्ट काठमाडौं ठमेल’ पनि मध्यअगस्त (साउन अन्तिम) मा सञ्चालनमा आउँदै छ । नेपालको शान्ति हस्पिटालिटी म्यानेजमेन्ट सर्भिसेज् (एसएचएमएस) कम्पनीले म्यारियट इन्टरनेशनल हस्पिटालिटीको उक्त ब्रान्ड भित्र्याएको हो । उक्त होटलमा १६७ कोठा छन् । यी दुई भर्खरै निर्माण पूरा भएका र सञ्चालनमा आइसकेका पछिल्ला चेन होटल हुन्, जसले नेपालका यी होटलको व्यवस्थापन हेर्दै आएका छन् । नक्सालबाट अलि पर अर्को अन्तरराष्ट्रिय होटल चेन हिल्टनको निर्माण तीव्रगतिमा भइरहेको छ । सिमेन्ट र फलामे डण्डी उद्योगमा जमेको शंकर ग्रूप हिल्टनजस्तो ख्यातिप्राप्त ब्रान्ड भित्र्याउँदै होटल क्षेत्रमा प्रवेश गर्दै छ ।

काठमाडौंमै निर्माणाधीन शेराटन होटलको निर्माण पनि आगामी अक्टोबर (कात्तिक) सम्ममा पूरा भइसक्ने बताइएको छ । निर्माण सम्पन्न हुँदासम्म रू. १२ अर्ब लगानी हुने उक्त होटल गैरआवासीय नेपाली शेष घलेको हो । कम्पनीका अप्रेशन म्यानेजर सुरेश चित्रकारले होटल निर्माणको काम तीव्रगतिमा भइरहेको बताउँदै सन् २०२० को अन्त्यसम्ममा होटल सञ्चालनमा आइसक्ने जानकारी दिए । उनका अनुसार होटलमा २२२ कोठा हुनेछन् । स्वीट, प्रेसिडेन्सियल, डिलक्सका साथै पाँचतारे होटलका सबै सेवा उपलब्ध हुने चित्रकारले बताए । शेराटन पनि म्यारियट इन्टरनेशनलको स्वामित्वमा रहेको चेन होटल हो । योसँगै म्यारियट इन्टरनेशनल हस्पिटालिटीका चेन होटल नेपालमा एमएस म्यारियट, अलफ्ट र शेराटन गरी तीनओटा सञ्चालन हुनेछन् ।

भारतको कन्सेप्ट हस्पिटालिटी र भारतको ताज ग्रूपको भिभान्तलाई भित्र्याउन उद्योग विभागमा निवेदन परेका छन् । चौधरी ग्रूप (सीजी) को होटल चितवन प्रालिले भारतको कन्सेप्ट हस्पिटालिटी भित्र्याउन विभागमा निवेदन दिएको छ । कन्सेप्ट हस्पिटालिटीको निर्देशकमा चौधरी ग्रूपका अध्यक्ष विनोद चौधरीसहित राहुल चौधरी र वरूण चौधरी पनि छन् । यस्तै सीजी ग्रूपले नै भारतको टाटा समुहअन्तर्गतको इण्डियन होटल्स कम्पनी लिमिटेडको ताज भिभान्त ब्राण्ड नेपाल भित्र्याइसकेको छ ।

नेपालमा अन्तरराष्ट्रिय होटल चेनको प्रवेश सन् १९६० को अन्त्यतिरबाट भएको हो । पहिलो पटक सोल्टी होटल लिमिटेडले भारतको ओबेरोय होटललाई भित्र्याएको थियो । लामो समयसम्म ओबेरोयसँग आबद्ध सोल्टी सन् १९९८ मा अर्को अन्तरराष्ट्रिय चेन ‘क्राउन प्लाजा’सँग जोडियो, जो हालसम्म पनि निरन्तर छ । सन् १९९० को उत्तरार्द्धपछि अन्य होटल चेनहरू थपिँदै आएका छन् । यसका साथै नेपालमा ¥याडिसन, हायातजस्ता अन्तरराष्ट्रिय होटल चेनले व्यवस्थापन सम्हाल्दै आएका छन् ।

होटल संघ नेपाल (हान)की अध्यक्ष सृजना राणा हस्पिटालिटी क्षेत्रमा ब्रान्ड भित्रँदा ब्रान्ड मात्र नभई सेवाप्रणाली र व्यवस्थापन उत्कृष्ट र चुस्त हुने बताउँछिन् । ‘राम्रो व्यवस्थापन आउनाले नेपाली होटलको व्यवस्थापनका साथै सेवामा समेत सकारात्मक प्रभाव पार्छ,’ उनले भनिन् ।

पीक हस्पिटालिटीका अध्यक्ष दीपक लेखकले नेपालको प्रचारप्रसार र पर्यटक भिœयाउन हस्पिटालिटीमा अन्तरराष्ट्रिय ब्रान्ड आउँदा थप टेवा पुग्ने बताए । लेखकसहितको समुहले नेपालमै पनि हस्पिटालिटी कम्पनी ‘पीक हस्पिटालिटी’ खोलेर चेन ब्रान्ड बनाउन शुरू गरेका छन् ।

‘नाम चलेका अन्तरराष्ट्रिय होटल ब्राण्डहरू नेपालमा आउँदा यसले होटल सेवामा प्रतिस्पर्धा देखिने र उपभोक्ता तथा पर्यटकलाई गुणस्तरीय सेवा प्रवाहमा व्यवसायीहरू थप सचेत हुने देखिन्छ,’ उनले भने । चेन होटलहरू नेपाल भित्रिएपछि स्थापित होटलहरू गुणस्तरीय सेवाका लागि सक्रिय भएका छन् । स्थापित पुराना पाँचतारे होटल सोल्टी, हायात, र्‍याडिशन र सांग्रिला अहिले रूम रेनोभेशनका साथै पुराना संरचनालाई ग्राहक तथा पर्यटकमैत्री बनाउन सक्रिय भएका छन् । यो खबर आर्थिक अभियानबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *