सानाले घुस लिए अब ठूला पनि तानिने, मन्त्री, सचिवदेखि महानिर्देशकसमेत छानबिनको घेरामा पर्न सक्ने

Sharing is caring!

जेठ १२, २०७६ । अब साना कर्मचारीले घुस लिएको पाइएमा विषयगत मन्त्रालयका मन्त्री, सचिव, महानिर्देशकदेखि कार्यालय प्रमुखसम्म छानबिनको घेरामा पर्ने भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै पनि कार्यालयका कर्मचारी घुस लिँदालिँदै पक्राउ परेमा सो कार्यालयका प्रमुख तथा उच्च अधिकारीमाथि समेत छानबिन गर्ने तयारी गरेको हो ।
अहिले अख्तियारको स्टिङ अप्रेसनमा प्रायः साना कर्मचारी मात्रै पर्ने गरेका छन् । कार्यालय प्रमुख तथा उच्च अधिकारीको संकेत पाएरै साना कर्मचारीले घुुस लिने र सो घुसको भागबन्डा माथिल्लो तहसम्मै पुग्न सक्ने विश्लेषण गर्दै अख्तियारले माथिल्लो तहका अधिकारीलाई समेत छानबिनको घेरामा ल्याउने भएको हो ।

अख्तियारले कार्यालय प्रमुखको निर्देशन तथा मिलेमतोबिना यस्तो काम सम्भव नहुने निष्कर्ष निकाल्दै उच्च तहका जिम्मेवार कर्मचारीसमेतलाई छानबिन गर्ने भएको हो । यसरी, आर्थिक लाभ लिने तथा अख्तियारको दुरुपयोग गरी कानुनविपरीतका गतिविधिमा संलग्न भएको पाइएमा संलग्न कर्मचारी तथा कार्यालयका प्रमुखसम्मको संलग्नता रहे÷नरहेको बारे छानबिन गर्ने भएको हो ।

कुनै कार्यालयका कर्मचारीले घुस खाएमा कार्यालय प्रमुख, विभागका कर्मचारीले घुस खाएमा महानिर्देशक तथा मन्त्रालयका कर्मचारीले घुस खाएमा सचिव तथा मन्त्रीहरूमाथि नै छानबिन हुन सक्ने स्रोतको भनाइ छ ।
अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले कुनै पनि कार्यालयका कर्मचारी घुससहित पक्राउ परेको तथा आर्थिक लाभ लिएको र अख्तियारको दुरुपयोग गरेको पाइएमा सुपरिवेक्षण गर्ने जिम्मेवारीमा रहेका कार्यालय प्रमुखसमेत दोषी हुन सक्ने सम्भावनाको आधारमा उनीमाथि समेत छानबिन गरिने जानकारी दिए । जापान, बेलायतजस्ता विकसित देशमा कुनै पनि कार्यालयका कर्मचारीले घुस खाएको पाइए सो कार्यालयका प्रमुखलाई समेत छानबिन गरी कानुनी दायरामा ल्याउने प्रचलन छ । अन्तर्राष्ट्रिय रूपमा नै यस्ता धेरै अभ्यास रहेको अख्तियारले जनाएको छ ।

आयोगले भ्रष्टाचार नियन्त्रण तथा अख्तियारको दुरुपयोग रोकी सुशासन कायम राख्नका लागि यस्ता अन्तर्राष्ट्रिय अभ्यासलाई प्रचलनमा ल्याउन लागेको हो । अख्तियारले विभिन्न आरोपमा रंगेहात पक्राउ गरेका अधिकांश कर्मचारी कार्यालय सहयोगी, खरिदार तथा नायब सुब्बा तहका रहने गरेका छन् । नीतिगत तहमा हुने भ्रष्टाचारबारे भने अख्तियारले आफ्नो छानबिनलाई प्रभावकारी बनाउन सकेको छैन । विगतदेखि नै नीतिगत तहमा ठूलाठूला भ्रष्टाचार भइरहेको भए पनि त्यस्ता भ्रष्टाचार भने गुपचुप हुँदै आएका छन् । यसैगरी, उच्च अधिकारीको अकुत सम्पत्तिमाथि समेत अख्तियारले आक्रामक छानबिन थाल्न सकेको छैन ।

अख्तियारले साना कर्मचारी मात्रलाई पक्राउ गरी कारबाही गर्ने गरेको र ठूलाको संलग्नतालाई कुनै चासो नदिएको गुनासो जनमानसमा रहँदै आएको छ । त्यसैले, अख्तियारले ठूलो माछो समात्न नसकेको र साना माछालाई मात्रै कारबाही गर्ने गरेको आरोप लाग्दै आइरहेको छ ।
अख्तियारका अनुसार ठूलाको निर्देशन पाएपछि मात्र साना तहका कर्मचारीले मिलेमतो गरी कानुनविपरीतका कार्य गर्न सम्भव हुने बताइएको छ ।
यससँगै कर्मचारीले घुस लिँदा मन्त्री, सचिवदेखि कार्यालय प्रमुखसम्म छानबिनको घेरामा पर्नेछन् । अख्तियार स्रोतले दिएको जानकारीअनुसार कुनै विभागका कर्मचारी अख्तियार दुरुपयोगमा संलग्न रहेको प्रमाण फेला परेको अवस्थामा सम्बन्धित विभागका प्रमुखलाई समेत छानबिनको घेरामा ल्याइनेछ । त्यस्तै, कुनै मन्त्रालयभित्र अख्तियारको दुरुपयोग भएको अवस्थामा सम्बन्धित मन्त्रालयका सचिव तथा मन्त्रीलाई समेत संलग्नता रहन सक्ने आधारमा रहेर कारबाही प्रक्रिया अघि बढाइनेछ । यो खबर राजधानीबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *