आगोले खायो ८७ घर, पिउने पानीदेखि कपडासमेत अभाव

Sharing is caring!

पुस १०, २०७५ । आगलागीले पलाँता गाउँपालिका–१ खाडागाउँस्थित न्यौपानेबस्तीका ८७ घर जलेर नष्ट भएका छन् । वडाका १६९ घरधुरीमध्ये ८७ वटा घर जलेर नष्ट भएकोे हो । सोमबार बिहानका राति २ बजेबाट लागेको आगो नियन्त्रणमा आउन नसक्दा गाउँका ८७ वटा घर, गोठ र सम्पत्ति जलेर नष्ट भएका छन् ।

स्थानीयले ज्यान जोगाउन भागाभाग मात्र गर्नुपरेन, टोलका झन्डै ६ सय नागरिक लत्ताकपडाविहीन भएका छन् ।

समुन्द्री सतहदेखि करिब ३ हजार मिटर उचाइमा रहेको विकट बस्तीमा लागेको आगो तत्काल नियन्त्रणमा लिन नसक्दा स्थानीयका घर, चौपाया र धनमाल नष्ट भएका छन् ।

आगोका कारण धुवाँको मुस्लोले छोपिएको गाउँ आगो नियन्त्रणमा आएसँगै सोमबार बेलुकीबाट खुल्न थालेको छ ।

५४० जना खुला आकाशमुनि बस्न बाध्य छन् । घटनास्थलमा छिमेकी गाउँका बासिन्दा, सुरक्षाकर्मीलगायत परिचालित भए पनि अझै पीडितका लागि बास र कपडाको उचित प्रबन्ध हुन सकेको छैन ।

सदरमुकामबाट घटनास्थलसम्म पुग्ने मोटरबाटो नहुँदा उद्धारकर्मी ५ घण्टाको उकालो हिँडेर ढिलो गरी पुग्नुपरेको थियो । राति दुई बजेबाट आगलागी सुरु भए पनि घटनास्थलमा प्रहरी र सेनाको टोली हिँडेर बिहान उज्यालो भएपछि मात्र पुग्यो ।

आगलागीले गाउँमा रहेको एउटा मात्र खानेपानीको पाइप जलेपछि स्थानीयवासीसँग पिउने पानीसमेत छैन । सिंगो गाउँका लागि गाउँको बीचमा बनाइएको १४ हजार लिटरको ट्यांकीमा संकलन गरेको पानी बाडीचुँडी खाँदै आएका स्थानीयसँग अब तत्काल पानीको स्रोतसमेत छैन ।
गाउँपालिका उपाध्यक्षको घरसमेत आगलागीबाट जलेर नष्ट भएको छ । आगोले घर जलाउँदा गाउँ नै पीडित बनेको पलाँता गाउँपालिका उपाध्यक्ष दानादेवी न्यौपानेले बताइन् । उपाध्यक्ष न्यौपानेको घरसमेत जलेर नष्ट भएको छ ।

‘एक जोर लगाएको कपडाबाहेक गाउँका ८७ वटै घरपरिवारका मानिसको सबै सामान जलेर नष्ट भएका छन्, खाने गाँस छैन, लगाउने कपडा छैन,’ उनले भनिन् ।

आगलागीका कारण अधिकांशका मोबाइल जलेर नष्ट भएको र विद्युत् आपूर्ति बन्द भएका कारण स्थानीय बाहिरी सञ्चार सम्पर्कबाट समेत वञ्चित भएका छन् ।

आगलागीमा झन्डै ३ करोड बढीको धनमाल क्षति भएको स्थानीय प्रशासनले अनुमान गरेको छ । परम्परागत शैलीले बनाएका घर सुक्खा खरले छाएका थिए । खाँडा गाउँमा खरको छाना भएका १७९ घर छन् । स्थानीय नवीन न्यौपानेको घरबाट सुरु भएको आगो निकै ढिलो गरी नियन्त्रणमा आएको हो ।

प्रदेश सरकाबाट उद्धार र राहत सामग्री संकलन भइरहेको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले जानकारी दिए । स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रजिअ कार्कीले बताए ।

आगलागीमा परी घाइते हुनेमा ७० वर्षीया चन्द्ररूपा सञ्ज्याल, ७० वर्षीय देवराज हमाल, ३५ वर्षीय विष्णुऋषि न्यौपाने, ५८ वर्षीय कर्णप्रसाद न्यौपाने, १० वर्षीया करिस्मा न्यौपाने र ९ वर्षीय एक बालक छन् । प्रहरीले जनाएनुसार चन्द्ररूपा सञ्ज्याल गम्भीर घाइते भएकी छन् । घाइतेलाई उपचारका लागि हेलिकोप्टरमार्फत नेपालगन्ज लगिएकोे छ । यो खबर राजधानीबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *