प्रधानमन्त्रीलाई एक–दुई दिनमै डिस्चार्ज गरिने
मंसिर १९, २०७६ । उपचारमा संलग्न चिकित्सकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक/दुई दिनमै अस्पतालबाट डिस्चार्ज गरिने जनाएका छन् । प्रधानमन्त्रीको स्वास्थ्यमा राम्रो सुधार आइरहेको र यस्तै सुधार जारी रहे डिस्चार्ज गर्न सकिने उनीहरूले जनाएका हुन् ।
‘सुधारको स्थिति यस्तै कायम रहे र एक्कासि कुनै जटिलता नथपिए, प्रधानमन्त्रीलाई छिट्टै डिस्चार्ज गरिनेछ’, उपचारमा संलग्न एक चिकित्सकले बुधबार कान्तिपुरसँग भने ।
उनलाई शनिबार र आइतबार दुईपटक डायलसिस गरिएको थियो । प्रधानमन्त्रीलाई डिस्चार्ज गर्नुअघि डायलसिस गरिने जानकारी ती चिकित्सकले दिए । ‘अब प्रधानमन्त्रीलाई घरमै आराम गर्दा पनि त्यति अप्ठ्यारो हुनेछैन,’ ती चिकित्सकले भने ।
उनका अनुसार प्रधानमन्त्री ओलीको शल्यक्रिया गरिएको ठाउँमा भएको घाउ निको हुने क्रममा छ । आईसीयूमा प्रधानमन्त्रीले राम्ररी कुराकानी गर्नुका साथै नरम (गिलो) आहारसमेत सेवन गरिरहेका छन् । उनले लिने नरम आहार बिस्तारै सामान्य आहारजस्तै भइरहेको छ ।