ओली र दाहालसँग बिच्किए माधव नेपाल

Sharing is caring!

वैशाख ४, २०८१ । नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउन सहयोगी हुन खोजेपछि संघीय सत्ता गठबन्धनमा दलहरु झस्किएका छन् । यो विषयलाई लिएर सोमबार सार्वजनिक रुपमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको खुलेरै आलोचना गरे । माधव नेपालले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओलीबाट आफूहरुमाथि सम्मानको व्यवहार नभएको बताएका छन् ।

वामपन्थीहरुबीच एकताको लागि भन्दै सहकार्य गरेको एक महिनामै एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच सम्बन्धमा चिसोपना आएको हो । २१ फागुनमा माओवादी केन्द्रले कांग्रेससँगको गठबन्धन तोडेपछि एकीकृत समाजवादी नयाँ गठबन्धनमा मौन रहेको थियो । प्रधानमन्त्री प्रचण्ड र केपी ओली स्वयमले माधव नेपाललाई भेटेर मनाएका थिए । त्यसपछि ३० फागुनमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदा एकीकृत समाजवादी समेतले विश्वासको मत दिएको थियो ।

त्यसयता सहकार्य भएको एक महिना केही दिन मात्रै भएको छ । तर, मुख्य तीन नेतामध्ये ओली र माधव नेपाल सार्वजनिक रुपमै आलोचनामा उत्रिएका छन् ।

सोमबार बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन एमालेका अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादीले दक्षिणपन्थी अवसरवादी चरित्र नांगो ढंगले प्रकट गरेको भन्दै आक्रोश पोखे ।

‘मुख्यमन्त्रीको दाबी गर्ने कुरा थियो सुदूरपश्चिममा । एस भन्ने पार्टी छ एउटा त्यसले अराजनीतिक निर्णय लियो’ ओलीले भनेका छन्, ‘तर, त्यसले कुनै फरक पार्नेवाला छैन ।’

सोमबार एकीकृत समाजवादीको पनि पार्टीको आन्तरिक बैठक थियो । उपलब्ध सचिवालयका सदस्यहरुको उक्त बैठकलाई ब्रिफिङ गर्दै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भनेका छन्, ‘सूदुरपश्चिम प्रकरण प्रचण्ड र केपी ओलीले सहमति पालना नगर्दाको परिणाम हो । हामी संघमा तत्काल समीकरण भत्काउन लाग्दैनौं । तर, सँधै हेरिएर, पेलिएर बस्दैनौं ।’

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष तथा संसदीय दलका उपनेता राजेन्द्र पाण्डे, मेटमणि चौधरीलगायतका नेताहरूले एमाले र माओवादी सम्मिलित गठबन्धनको विकल्प सोच्न अध्यक्ष नेपालमाथि दबाब नै बढाएका छन् ।

उपाध्यक्ष पाण्डेले प्रचण्ड र ओलीले गठबन्धनको जरा काट्न थालेकाले देशभरि समस्या सिर्जना हुनसक्ने चेतावनी नै दिएका छन् । सुदूरपश्चिम प्रदेशको नेतृत्व आफूहरुलाई दिने सहमतिबाट प्रचण्ड र ओली ब्याक भएपछि नयाँ ढंगबाट अघि बढ्नुपर्ने महसुस हुन थालेको उनको भनाइ छ । यो खबर मध्यान्हबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *