अर्थतन्त्रमा दीर्घकालीन असर, घरजग्गाको कारोबार सुस्ताए

Sharing is caring!

वैशाख ४, २०८१ । बजार अर्थतन्त्रमा निरन्तर देखिएको मन्दी, सर्वसाधारणसँग बचत कमी तथा कर्जामा बैंकको कडाइका कारण सुस्ताएको घरजग्गा कारोबार अपेक्षित रूपमा बढ्न सकेको छैन । नेपालमा भन्दा विदेशमा जग्गाको मूल्य तुलनात्मक महँगो नभएपछि बिदेसिएका नेपालीका परिवारले नेपालमा भन्दा विदेशमा घरजग्गा जोड्न थालेपछि नेपालमा घरजग्गाको कारोबार सुस्ताएको छ ।

नेपाली जनताको आम्दानी नबढ्दै घरजग्गाको मूल्य अस्वाभाविक रूपमा अचाक्ली बढ्दा लिएको कर्जा तिर्न नसकेपछि सहकारी डुब्ने क्रम चल्यो र बैंकमा गैरबैंकिङ सम्पत्ति थुप्रिएपछि घरजग्गाको कारोबार नबढेको विज्ञको भनाइ रहेको छ ।

यद्यपि, गत साउनमा सरकारले जग्गाको कित्ताकाट खुलाएपछि सामान्य रूपमा उठेको घरजग्गा कारोबार गतवर्ष चैतको तुलनामा २ दशमलव २४ प्रतिशतले बढेको छ । तर, गत माघ र फागुनको तुलनामा भने चैतमा कारोबार घटेको छ ।

भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकअनुसार माघमा देशभर ५० हजार ९ सय २१ संख्यामा घरजग्गा किनबेच भएको थियो । फागुनमा भने ५० हजार ९ सय ९८ संख्यामा घरजग्गा किनबेच भएको थियो । चैतमा देशभर ५० हजार २ सय ५२ संख्यामा मात्र घरजग्गा कारोबार भएको विभागको तथ्यांक रहेको छ ।

गतवर्षको चैतमा भने ४९ हजार १ सय ५० संख्यामा घरजग्गा कारोबार भएको थियो । विभागको तथ्यांकअनुसार गतवर्षको चैतका तुलनामा अहिले कारोबार संख्या बढे पनि राजस्व घटेको छ । गत चैतमा ४९ हजार १ सय ५० संख्यामा घरजग्गा कारोबार हुँदा ४ अर्ब ५१ करोड रूपैयाँ राजस्व उठेको थियो ।

चैतमा ५० हजार २ सय ५२ संख्यामा घरजग्गा कारोबार हुँदा राजस्व ३ अर्ब ९५ करोड रुपैयाँ मात्र राजस्व उठेको छ ।

राष्ट्र बैंकले घरजग्गा कारोबारबाट आर्थिक प्रगति नहुने निष्कर्ष निकाल्दै यसबाट अर्थतन्त्र दीर्घकालमा समस्या पर्ने भन्दै २ करोडसम्मको कर्जामा आफ्नो मासिक आम्दानीको ५० प्रतिशत रकमबराबर मात्र किस्ता हुनेगरी ऋण लिन सकिने प्रावधान बनाएको छ ।

त्यस्तै, ५० लाख रुपैयाँसम्म कर्जा लिनेको हकमा ६० प्रतिशतसम्म कर्जा लिन सकिने प्रावधान बनाएको छ । यही प्रावधानले गर्दा जग्गाको कारोबार हुन नसकेको ठम्याइ घरजग्गा व्यवसायीको रहेको छ ।

उनीहरूले बैंकबाट ऋण लिन समस्या भएको भन्दै कर्जा र आम्दानीको अनुपात ८० प्रतिशत पु¥याउनुपर्ने माग गर्दै आएका छन् । यसबाट सर्वसाधारणको कर्जा लिने क्षमता बढ्ने र आफूहरूले प्लानिङ गरिरहेको घरजग्गा कारोबार बढ्ने निष्कर्ष उनीहरूको छ ।

विभागका अनुसार गतवर्ष चैतमा देशभर ४९ हजार १ सय ५० वटा लिखत पारित भएकोमा यसपटक भने ५० हजार २ सय ५२ पुगेको छ । सो कारोबारबाट गतवर्ष चैतमा ४ अर्ब ५१ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । यसपालि भने घटेर ३ अर्ब ९४ करोड रुपैयाँमा सीमित भएको छ ।

विभागका अनुसार पुँजीगत लाभकर मात्र १ अर्ब ४७ करोड रहेको छ । त्यस्तै, रजिस्ट्रेसन दस्तुरबापत् २ अर्ब ५० करोड र सेवा कर शीर्षकमा ३१ करोड ५२ लाख संकलन भएको छ ।

कुल राजस्व संकलनमध्ये भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलबाट सबैभन्दा धेरै संकलन भएको छ । मालपोत कार्यालय लगनखेलबाट चैत महिनामा ३९ करोड ६२ लाख रुपैयाँ राजस्व संकलन भएको छ । त्यसैगरी, भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरबाट २७ करोड ६७ लाख, मालपोत कार्यालय कलंकीबाट २५ करोड ७६ लाख, भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारबाट २४ करोड ५९ लाख र मालपोत कार्यालय चावहिलबाट २३ करोड ३१ लाख रुपैयाँ बढी राजस्व संकलन भएको छ ।

विभागका अनुसार चालू आर्थिक वर्षको चैत महिनामा सबैभन्दा धेरै कारोबार भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीबाट भएको छ । सो कार्यालयबाट २०८२ वटा लिखत पारित भएकोे छ । त्यस्तै, भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर, जनकपुरधाम, बेलवारी, राजविराज, मलंगवा, सिराहा, जलेश्वर, लाहान र लगनखेलबाट पनि १ हजारभन्दा धेरै कारोबार भएको छ । विभागले चैत महिनामा ५८ हजार १ सय ८७ कित्तालाई कित्ताकाट गरेर १ लाख ३१ हजार ५ सय ५८ कित्ता बनाइएको जनाएको छ ।

चैतमा ५ हजार ८ सय ८६ वटा नामसारी भएको छ । फागुन महिनामा ५ हजार ६ सय ९९ वटा नामसारी भएको थियो । फागुनमा लिखत पारित ३९ हजार २ सय ६३ र नामसारी ३ हजार १ सय ५९ वटा जग्गाको भएको थियो ।

यसैगरी, चैत्रमा ३९ हजार ८ सय २२ वटा जग्गा रोक्का र २९ हजार २ सय ४७ वटा जग्गा फुकुवा भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार २०७८ साल चैतयता घरजग्गाको बजारमा शिथिलता छ ।

काठमाडौं उपत्यकामा रहेका नौ मालपोत कार्यालयले चैत महिनामा जम्मा ४ हजार २ सय ६९ वटा घरजग्गाको लिखत पारित गरे । यसमा लखनखेल मालपोत कार्यालयले सर्वाधिक १ हजार २ वटा लिखत पारित गरेको हो । काठमाडौंमा चैतमा गोटीखेल, ललितपुरबाट सबैभन्दा कम २३ घरजग्गाको मात्रै किनबेच भएको थियो ।

२०८० साल चैत महिनामा सबैभन्दा बढी राजस्व संकलन गर्नेमा लगनखेल मालपोत कार्यालय छ । ३९ करोड ६२ लाख १७ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । कुल ३९ करोड ६२ लाख १७ हजार रुपैयाँ राजस्वमा लगनखेल मालपोत कार्यालयले संकलन गरेको राजस्व ९ दशमलव ९६ प्रतिशत हो । सो कार्यालयले मात्रै १ हजार २ वटा लिखत पारित गरेको छ ।

यसैगरी, मालपोत कार्यालय भक्तपुरले चैतमा २७ करोड ६७ लाख ६६ हजार रुपैयाँ संकलन गरेको छ भने कलंकी मालपोतलबाट २५ करोड ७६ लाख ७३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

डिल्लीबजारको भूमिसुधार तथा मालपोत कार्यालयले २४ करोड ५९ लाख ४६ हजार रुपैयाँ संकलन गरेको छ भने मालपोत कार्यालय चाबहिलले २३ करोड २१ लाख ८१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । भक्तपुरले चैतमा ९ सय ६९ लिखत पारित गरेको छ भने कलंकी मालपोतले ७ सय ३१, डिल्लीबजारले २ सय ५ र चावाहिलले ४ सय ९१ लिखत पास गरेको छ ।

यसैगरी, चितवन मालपोतले १३ करोड ६० लाख रुपैयाँ ७५ हजार, सुनसरीको इनरुवा मालपोत कार्यालयले १२ करोड ८१ लाख ८७ हजार र कास्की मालपोत कार्यालयले ११ करोड ६१ लाख ८४ हजार राजस्व संकलन गरेको छ । चितवन मालपोतले फागुनमा ८ सय ९६, कास्कीले ६ सय ७० र इनरुवाले २ हजार ८२ वटा लिखत पारित गरेको छ । यो खबर राजधानीबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *