चार दिनको अस्पताल बसाईपछि प्रधानमन्त्री डिस्चार्ज

Sharing is caring!

कात्तिक १७, २०७५ । प्रधानमन्त्री केपी शर्मा ओली चार दिनको अस्पताल बसाइपछि डिस्चार्ज भएका छन् । स्वास्थ्य सामान्य अवस्थामा आएसँगै उनी शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटार फर्किएका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा.कुन्दन अर्यालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था ठीक भएकाले निवास फर्किएको जानकारी दिए । प्रधानमन्त्रीको शुक्रबार बिहानको स्वास्थ्य परीक्षण प्रतिवेदन अध्ययनपछि स्वास्थ्य स्थिति सामान्य पाइएको थियो ।

प्रधानमन्त्री ओलीलाई छातीको संक्रमण, ज्वरो र खोकीका साथै मधुमेहको समस्या देखिएको थियो ।

११ कात्तिकमा प्रधानमन्त्री निवास बालुवाटारमै बसेको छोटो मन्त्रिपरिषद् बैठकमा सहभागी भएका प्रधानमन्त्री १२ कात्तिकको बिहान ४ः३० बजे त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।

सेन्टरका निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्रीलाई पूर्ण स्वास्थ्य लाभ भएकाले डिस्चार्ज गरिएको बताए । प्रधानमन्त्रीको उपचारमा डा. अरुण सायमीको संयोजकत्वमा प्रा.डा. दिव्यासिंह शाह र डा. सन्तकुमार दास सम्मिलित थिए ।

प्रधानमन्त्री ओलीलाई अस्पतालको कोरोनरी केयर युनिट (सीसीयू)को विशेष कक्षमा राखेर उपचार गरिएको थियो ।

दसैंमा टीका लगाउने क्रममा धेरै जनासँग सम्पर्कमा आएका कारण प्रधानमन्त्री ओलीलाई रुघाखोकी सरेको चिकित्सकहरूले अनुमान गरेका थिए । उपचारका क्रममा संक्रमणको खतरा रहेको भन्दै चिकित्सकहरूले उनको उपचारका क्रममा केही समय भेटघाट गर्नसमेत प्रतिबन्ध गरेका थिए ।

प्रधानमन्त्री ओलीका दुवै मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता कम हुने चिकित्सकहरू बताउँछन् । यस्तो अवस्थामा रुघाखोकीका कारण पनि संक्रमण चाँडै बढ्ने खतरा रहने चिकित्सकहरू बताउँछन् ।

रुघाखोकी र ज्वरोबाट संक्रमित भएकाले प्रधानमन्त्री ओली पार्टीद्वारा १० कात्तिकमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा समेत उपस्थिति भएका थिएनन् ।

९ कात्तिकमा बस्ने भनिएको मन्त्रिपरिषद् बैठकसमेत प्रधानमन्त्री अस्वस्थ भएकाले रोकिएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारी सोमबारदेखि औपचारिक कतार भ्रमणमा जानुपर्ने भएको र मन्त्रिपरिषद्ले भ्रमण स्वीकृत गर्नैपर्ने भएपछि ११ कात्तिकमा भने प्रधानमन्त्री निवास बालुवाटारमै छोटो समय मन्त्रिपरिषद् बैठक बसेको थियो ।यो खबर राजधानीमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *