गौतमबुद्ध विमानस्थल, आठ महिनाभित्रै सञ्चालनमा ल्याउने तयारी

Sharing is caring!

कात्तिक १४, २०७५ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी ६ महिनाभित्र सञ्चालनमा ल्याउनेगरी धावनमार्ग (रनवे) को कालोपत्रे गर्ने कार्य सुरु गरिएको छ । १६ जुलाई २०१९ अघि नै विमानस्थल सञ्चालनमा ल्याउने आयोजनाको लक्ष्य छ ।  विमानस्थलमा रहेको तीन किलोमिटर ‘रनवे’को सबबेस लेयर र बेस लेयर पूरा गरेर अहिले आयोजनाले कालोपत्रेको काम सुरु गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले धावनमार्ग कालोपत्रे गर्ने कार्यको उद्घाटन गर्दै विमानस्थलबाट ६ महिनाभित्रै अन्तर्राष्ट्रिय उडान हुने दाबी गरेका छन् । ‘रनवे कालोपत्रेको काम ६ महिनाभित्र पूरा गर्न आयोजनालाई निर्देशन दिँदै अधिकारीले भने, ‘त्यसपछि विमानस्थल सञ्चालनमा आउँछ ।’ समयसमयमा विभिन्न अवरोध आए पनि हालसम्म विमानस्थल निर्माणको काम ५५ प्रतिशत सम्पन्न भएको छ । पछिल्लो समय भने विमानस्थल निर्माणको कामले तीव्रता पाएको छ ।

कुल ६ अर्ब २२ करोड रुपैयाँ लागतको यो विमानस्थलमा एडीबीको ५४ करोड रुपैयाँ अनुदान रहेको छ । बाँकी ४ अर्ब २० करोड रुपैयाँ ऋण सहयोग हो । विमानस्थलको निर्माण कार्यको जिम्मा चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले लिएको छ । विमानस्थल निर्माण कार्यअन्तर्गत अहिले निर्माण भइरहेको रनवे १ दशमलव २५ मिटर उचाइ, ३ हजार मिटर लम्बाइ तथा ७० मिटर चौडाइको हुनेछ । चौडाइतर्फ दुवै किनारमा १५-१५ मिटर छाडिनेछ । ३ हजार मिटर लामो रनवेको दुवैतिर ३-३ सय मिटर विमान सुरक्षाका लागि रनवे एन्ड सेफ्टी एरिया (रेसा) निर्माणको पनि काम भइरहेको छ ।यो खबर राजधानीमा छापिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *