पोखरामा ४८ जनामा भेटियो डेंगु

Sharing is caring!

कात्तिक १४, २०७५ । पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा ४८ जना डेंगुका संक्रमित भेटिएको छ । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त शर्मा पौडेलले दसैँपछि मंगलबारसम्म ४८ जनामा लामखुट्टेका कारण हुने डेंगुको संक्रमण भेटिएको जानकारी दिए । असोजको पहिलो सातादेखि डेंगुको संक्रमण फैलिएको र दसैँपछि विभिन्न स्वास्थ्य संस्थामा परीक्षण गर्न गएका उनीहरूमा संक्रमण देखिएको उनको भनाइ छ । संक्रमण देखिएकाहरूको हाल पोखराका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

पोखरामा असोजको पहिलो साता दुईजनामा डेंगुको संक्रमण देखिएको थियो । उनका अनुसार पोखरा महानगर–८ का धेरै व्यक्तिमा डेंगु देखिएको छ । यस्तै, ५, ९ र १५ वडामा समेत संक्रमण देखिएको छ । दसैँको वेला घरमा पानी भरेर राखेका भाँडा धेरै दिनसम्म खुला राखेकाले त्यसमा बसेका लामखुट्टेले टोकेर संक्रमण फैलिएको पौडेलले बताए ।

पानीको संकट भएको क्षेत्रका स्थानीयले खुला भाँडामा पानी भरेर राख्ने गरेका छन् । धेरै दिनसम्म त्यसरी पानी राख्दा लामखुट्टे बसेर फुल पार्ने र त्यहीँबाट संक्रमण सुरु हुने स्वास्थ्य महाशाखाका प्रमुख शर्मा पौडेलको भनाइ छ ।

संक्रमण फैलिएसँगै महानगरले सोमबारदेखि सतर्कता, सरसफाइसँगै संक्रमण देखिएपछि गर्नुपर्ने उपचारबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । महानगरका ३३ मध्ये १९ वटा वडामा जनचेतनामूलक कार्यक्रम गरेको पौडेलले जानकारी दिए । बाँकी वडाहरूमा समेत कार्यक्रम सञ्चालन गर्ने उनको भनाइ छ । महानगरले वडास्तरका टोल विकास समितिका प्रतिनिधिहरूलाई भेला गरी रोगबाट बँच्न गर्नुपर्ने कामका बारेमा जानकारी दिएको छ ।

यस्तो हुन्छ डेंगुको लक्षण
डा. रविन गौतमका अनुसार डेंगुका संक्रमितलाई उच्च ज्वरो आउने, शरीरका जोर्नीहरू दुख्ने, आँखाका गेडी वरिपरि दुख्ने, शरीरमा रातो धब्बा देखिने, वाकवाक लाग्ने लक्षण देखिन्छ । मानिसहरूको आवतजावत बढी हुने स्थानमा समेत संक्रमणको सम्भावना बढी हुने गर्दछ । यदि कसैलाई यी लक्षण देखिए तत्काल नजिकको स्वास्थ्य संस्थामा गई परीक्षण गर्न गौतमले सुझाब दिए । यी लक्षणसँगै कसैलाई रक्तस्राव भए त्यो कडा संक्रमणको डेंगु हुने उनको भनाइ छ ।यो खबर नयाँ पत्रिकामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *