सरकारको आश्वासनपछि चिकित्सकको आन्दोलन पछि स-यो

Sharing is caring!

भदौ १, २०७५ । मुलुकी ऐनले तय गरेका केही प्रावधानमा आपत्ति जनाउँदै आएका चिकित्सकहरूले एप्रोन र चिकित्सक दर्ता प्रमाणपत्र सरकारलाई बुझाउने कार्यक्रम १५ दिन पर सारेका छन् । चिकित्सक मर्कामा पर्ने केही विषय संशोधन गर्ने सरकारको आवश्वासनपछि चिकित्सकहरूले विरोधका कार्यक्रम दुई हप्ता पछि सारेका हुन् ।

चिकित्सकहरूको छाता संगठन नेपाल चिकित्सक संघको अगुवाइमा १ भदौदेखि ऐन सच्याउन माग गर्दै एप्रोन र प्रमाणपत्र नेपाल मेडिकल काउन्सिलमा बुझाउने कार्यक्रम थियो । शुक्रबारदेखि नयाँ मुलुकी अपराध संहिता ऐन लागू हुँदै छ । मुलुकी संहिता ऐनमा चिकित्सकलाई जन्मकैदसम्मको व्यवस्था राखिएपछि त्यसलाई सच्याउन विभिन्न तबरबाट दबाब परिरहेको छ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले सरकार माग सम्बोधन गर्न सकारात्मक देखिएकाले विरोधको कार्यक्रम १५ दिन पर सारिएको बताए । सरकारले दिएको आश्वासन कार्यान्वयन नभए १५ भदौदेखि विरोधका कार्यक्रम ल्याउने उनले जानकारी दिए । कानुन, न्याय तथा संसदीय मन्त्रालयको पत्रका आधारमा संघले विरोधका कार्यक्रम स्थगन गरेको हो । यो खबर आजको नयाँ पत्रिकामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *