पूर्वगभर्नर रावलसहित ३ विरुद्ध भ्रष्टाचार मुद्दा
पुस ६, २०७५ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तिलक रावलसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
१० रुपियाँ दरको ५ करोड थान पोलिमर नोट छपाइमा आर्थिक अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो।
आयोगले बिहीबार नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर रावल, तत्कालीन नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौड्याल र स्थानीय प्रतिनिधिका रूपमा रहेका मे फ्लावर लिमिटेडका हिमालयबहादुर पांँडेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियारले तीनै जनासँग समान ९१ लाख ९ हजार ८ सय ८९ रुपियाँ बिगो माग गरेको छ।
नेपाल राष्ट्र बैंकबाट अस्ट्रेलियामा १० रुपियाँको ५ करोड थान पोलिमर नोट छपाइ गर्दा अस्ट्रेलियाको स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाइ भएको, बोलपत्रपूर्व नै नेपाल राष्ट्र बैंकले नोट प्रिन्टिङ अस्ट्रेलियासँग बोलपत्रका मस्यौदा लिएको, सञ्चालक समितिका निर्णय चुहाएको आरोप आयोगले लगाएको छ।
आयोगले दायर गरेको आरोपपत्रमा जर्मन कम्पनीसँगको साँचो नोट प्रिन्टिङ अस्ट्रेलियालाई हस्तान्तरण गर्न लगाएको, छापिएका नोटका कमीकमजोरी लुकाउनका लागि मिडियाकर्मीलाई थाइल्यान्ड हुँदै अस्ट्रेलिया पठाएको, नोट छपाइका लागि जसलाई पछि कार्यादेश दिइएको हो उसलाई नै बोलपत्रपूर्व नै नोटको डिजाइन गर्न लगाएको, बोलपत्रका क्रममा स्थानीय प्रतिनिधिको प्रभावमा राजस्व छल्ने नियतले कमिसन उल्लेख नगरेको, नेपाल राष्ट्र बैंकका एवं नोट प्रिन्टिङ अस्ट्रेलियाका पदाधिकारीहरू र त्यसका स्थानीय प्रतिनिधिले नेपाल राष्ट्र बैंकलाई अस्वाभाविक मूल्य तिराई नोक्सानी पु¥याएको उल्लेख गरिएको छ।यो खबर नेपाल समाचारपत्रबाट लिएका हौ।