‘इन्जोय जोन’ मा कानुनविपरित काम हुन दिँदैनौं: मुख्यमन्त्री गुरुङ

Sharing is caring!

जेठ २१, २०७६ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुव्बा गुरुङले पोखरामा बनाउने भनिएको बहुचर्चित ‘इन्जोय जोन’मा कानुनले बर्जित गरेका काम हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । गण्डकी प्रदेशको सोमबार बसेको प्रदेशसभामा प्रमुख प्रतिपक्ष दलका सांसदहरूले उठाएका विषयका जवाफ दिँदै मुख्यमन्त्री गुरुङले पर्यटकको आकर्षण बढाउन बनाउने भनिएको ‘इन्जोय जोन’मा कानुनले बर्जित गरेका काम हुन नदिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

पोखरामा ‘इन्जोय जोन’ बनाउने विषयमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले दिएको अभिव्यक्तिलाई लिएर विपक्षी सांसदहरूले प्रश्न उठाएपछि मुख्यमन्त्री गुरुङले कानुनले बर्जित गरेका कुनै पनि कुरा हुन नदिने स्पष्ट पारे । “इन्जोय जोन भन्ने वित्तिकै हामीले खाली नकारात्मक कुरालाई मात्र बुझ्दा रहेछौं,” उनले भने, “इन्जोय जोनमा जुवा ताल खेल्न पाइँदैन, गाँजा÷चरेस खाएर मात्र इन्जोय हुन्छ भन्ने कुरा होइन ।” उनले एउटा पर्यटकले जे गर्दा सवै कुरा एकै ठाउँमा पाउन सक्छ त्यस्तो पार्कको परिकल्पना गरिएको बताए ।

पोखरा क्षेत्रमा इन्जोय जोन बनाउने विषयमा हाल पर्यटन मन्त्रालय लागेको प्रष्ट पार्दै मुख्यमन्त्री गुरुङले हल्लनचोकदेखि पामेसम्म, सराङकोटदेखि कास्कीकोटसम्म, कुभिण्डेदेखि मट्टिखाँनसम्म, ढिकीडाँडादेखि गर्लामसम्म, रूपादेखि बेगनातालसम्मका ठाउँमा अध्ययन गरी लगानीकर्तालाई पूर्वाधार निर्माणका लागि योजना अघि सार्न लागिएको बताए । उनले भने, “फनपार्क बनाउने, आइटीपार्क बनाउने, स्पेसल खाल्लको रेष्टुरेण्ट बनाउनुलाई नै हामीले इन्जोय जोन भन्नुपर्छ ।” उनले सवै प्रकारको पर्यटकीय सेवा उपलब्ध गराउने थलोको रूपमा विकास गर्न खोजिएको स्पष्ट पारे ।
मुख्यमन्त्री गुरुङले होटलमा अन्तर्राष्ट्रियस्तर आवासको व्यवस्था, विभिन्न मुलुकका खानाका लागि रेष्टुरेण्ट, लाइब्रेरी, नेपाली म्युजिक कल्चर, सांस्कृतिक ग्राम, पार्क, केभ, गार्डेन, जिम हल, साहसिक खेल गतिविधि र सूचना केन्द्रलगायतका सेवा एकै ठाउँबाट पाउनु इन्जोयजोन भएको बताए । प्रदेश सरकारले प्रोजेट बैंकको रूपमा इन्जोय जोनलाई विकास गर्न खोजेको उनको भनाइ थियो ।
मुख्यमन्त्री गुरुङले केही दिनअघि पोखरामा विकृति र विसंगति बढेकाले पनि रेडलाइट एरिया सञ्चालन गर्ने विषयमा बहस सुरु गर्नुपर्ने बताएका थिए । इन्जोय जोनका बारेमा मन्त्रिपरिषद्मा कुनै सैद्धान्तिक सम्झौता नभएको उनले स्पष्ट पारे ।
मुख्यमन्त्री गुरुङले लगानी सम्मेलन प्रोजेक्ट बैंकविना यस वर्ष आयोजना गर्न नसकिएको भन्दै उनले लगानी सम्मेलनको लागि पर्यटन पूर्वाधार निर्माणको डीपीआरका लागि ८ करोड छुट्याइएको बताए । प्रदेश र निजी क्षेत्रको लगानी कुन प्रोजेक्टमा हुन सक्छ भनेर आफूहरूले गृहकार्य गरिरहेको उनले जानकारी दिए । उनले औद्योगिक क्षेत्र स्थापना गर्न डीपीआर पनि बनाउन नसकिएको भन्दै गण्डकी विश्वविद्यालय स्थापना गर्ने कुरामा जग्गा प्राप्ति गरेको र त्यसको अन्तिम टुंगो लगाउन बाँकी रहेको बताए । अस्पतालको काम पनि जग्गाकै कारण रोकिएको मुख्यमन्त्री गुरुङको भनाइ थियो ।
मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहसँगको सहकार्यमा २५, ५० र एक सय शैयाको अस्पताल निर्माणका लागि सहकार्य गर्न ३२ करोड रकम छुट्याइए पनि हाल बजेट खर्च नहुने भएको जानकारी दिए । यो खबर  कारोबारबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *