कांग्रेस महासमिति, दबाबमा नेता फुर्सदमा सदस्य

Sharing is caring!

पुस ३, २०७५ । नेपाली कांग्रेसका महासमिति सदस्यहरूले बैठकको मूल एजेन्डा पार्टीको विधानमा सहमति जुटाउन शीर्ष नेतालाई दबाब दिएका छन् । जारी महासमिति बैठकको सोमबार बिहानको बन्दसत्रमा पटकपटक सहमतिका लागि भन्दै शीर्ष नेता बस्ने तर ठोस सहमति गर्नबाट पन्छने गरेको भन्दै सहमतिसहित बैठकमा आउन भनेका हुन् ।
सोमबारको खानाअघिको बन्दसत्रमा पार्टी सभापति शेरबहादुर देउवा विधानमा सहमति जुटाउन भन्दै महासमिति स्थलबाट बाहिरिन लागेका बेला प्रतिनिधिले आफ्ना कुरा सुन्न र ठोस रूपमा सहमति गर्न भनेका थिए ।

त्यसपछि सभापति देउवासहितका शीर्ष नेता र केन्द्रीय सदस्यहरू बैठकस्थलबाट सिंहदरबारस्थित संसदीय दलको कार्यालय गएका थिए । तर, करिब चार घण्टाको प्रयाससमेत असफल भएपछि उनीहरू सहमति नजुटेको पुरानै सन्देश लिएर फेरि बन्दसत्रमा पसेका थिए । सहमतिका लागि गएका नेताहरू नफर्कंदासम्म महासमितिको बन्दसत्रसमेत रोकिएको थियो ।
दिउँसोको बन्दसत्रका क्रममा समेत महासमिति सदस्यहरूले नेताहरूले आपसमा गुट, उपगुट बनाउँदा सहमतिमा समस्या भएको भन्दै नेताहरूलाई जारी महासमितिबाटै पार्टीभित्रको गुट अन्त्य भएको घोषणा गर्न भनेका थिए ।

त्यसपछि सोमबार साँझ फेरि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमै पदाधिकारी र पूर्वपदाधिकारीसहितका शीर्ष नेता विधानमा सहमति जुटाउन भन्दै छलफलमा बसेका थिए । साँझको छलफलमा समेत अन्तिम टुंगो नलागेको तर सहमतिको नजिक पुगेको नेता अर्जुननरसिंह केसीले जानकारी दिए ।

‘अन्तिम टुंगो लागिसकेको छैन तर मंगलबार बिहानसम्म टुंग्याउने भन्नेमा सहमति बनेको छ, संख्यामा अब सहमति छैन, निर्वाचित मात्र गर्ने कि मनोनीत पनि राख्ने भन्नेमा कुरा मिल्न बाँकी छ,’ नेता केसीले भने ।
नेताहरूबीच विधानमा सहमति नभएपछि महासमिति सदस्यहरूले समेत औपचारिकताका लागि मात्रै आफू हलभित्र बस्नुपरेको गुनासो गरेका छन् ।

‘नेताहरूले महासमितिको मूल एजेन्डा विधानमाथि सहमति गर्न सकेका छैनन्, हामीहरू पनि बन्दसत्रमा औपचारिकता पूरा गर्न मात्रै बस्नुपरेको छ, खास विषय आएन,’ पाल्पाबाट आएकी महासमिति सदस्य रूपा विकले भनिन् ।
उनले खास मुद्दामा सहमति नजुट्दा महासमिति सदस्यहरूमा अन्योल रहेको जनाइन् ।यो खबर राजधानीबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *