संसदीय छानबिन र लाल प्रतिवेदन सार्वजनिक नगरेसम्म संसद अवरुद्ध रहने कर्णको चेतावनी

Sharing is caring!

साउन १९, २०७६ । राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता तथा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले सर्लाही घट्नाको विषयमा संसदीय छानबिन समिति गठन र लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेसम्म संसद अवरुद्ध जारी रहने चेतावनी दिएका छन् ।

आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने,‘संसद अवरोध गर्ने हाम्रो ईच्छा होईन । हामीले यो चाहेको छैन् ।’

कर्णले सभामुखले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नको लागि सरकारलाई तीन पटकसम्म निर्देशन दिएको अवस्थामा अहिलेसम्म प्रतिवेदन सार्वजनिक नगरेकोमा सरकारप्रति कडा आपत्ति जनाए । उनले भने,‘सरकार त संसदबाट जन्मिएको हो । संसदको निर्देशन पालना गर्नुपर्छ । तर, अहिलेको सरकारले निर्देशन पालना गरेको छैन् । सरकारले पनि प्रतिवेदन सार्वजनिक गर्छु भनेर अहिलेसम्म सार्वजनिक गरेको छैन् । यो त निकृष्ट काम हो ।’

संसदको रोष्ट्रमा उभिएर प्रधानमन्त्री केपी शर्मा ओलीले पनि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छु भनेर बोलिसकेको तर अहिलेसम्म सार्वजनिक नगरेकोमा कर्णले गुनासो पोखे । उनले भने,‘६ महिना भैसक्यो, अहिलेसम्म प्रतिवेदन सार्वजनिक भएको छैन् । सरकारले सभामुख र संसदको मर्यादामाथि खेलबाड गर्न मिल्दैन् । बाध्य भएर हामी विरोधमा उत्रिएका हौं ।’

कर्णले सर्लाहीमा गैरन्यायिक हत्या भएकोले आफूहरुले संसदीय छानबिन समिति गठनको माग गरेको स्पष्ट पारे । उनले भने,‘अवैध धन्धा चलाएर ढुंगा, गिट्टी, बालुवा उत्खनन गर्ने अनि त्यही खाल्डोमा पुरिएर बालकको ज्यान गएको छ । यो त मानवअधिकारको गम्भिर उल्लंघन हो ।’
उनले सर्लाहीमा भएका दुईवटै घट्ना गैरन्यायिक हत्या भएको टिप्पणी गरे । उनले भने,‘यी दुवै घट्नामा मानवअधिकार उल्लंघन भएको छ । त्यही भएर हामीले संसदीय छानबिन समिति गठनको माग गरेको हो ।’ संसदीय ईतिहासमा पहिलोपटक संसदीय समिति गठन नभएको सुनाउँदै अब समिति बनाउँदा के को ? आपत्ति भयो ? भन्दै उनले प्रश्न गरे ।

समिति गठन गर्दा गैरन्यायिक हत्यामा सरकार संलग्न भएको कुरा सबैले थाहा पाउँछन् र आफू उदांगो भईन्छ भन्ने डरले समिति गठन गर्न सत्तापक्षले नमानेको पनि कर्णको गम्भिर आरोप छ । उनले भने,‘सत्तापक्षले समिति गठन गर्नेलगायतका हाम्रा मागका बारेमा एस नभनेसम्म हामी रोष्ट्रमबाट फकर्न बाटो छैन् ।’ आफूहरुले उठाएको माग म्याम्सिमम माग नभएको बरु मिनिमम माग रहेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *