राजनीति र खेल उस्तै कुरा हो : सभामुख घिमिरे

Sharing is caring!

मंसिर २६, २०८० । सभामुख देवराज घिमिरेले राजनीति र फुटबल खेल उस्तै कुरा भएको बताएका छन् । विचारबाट खेलिने राजनीतिको खेल र भौतिक रुपमा खेलिने फुटबल उस्तै भएको बताएका उनले फुटसल नयाँ भएकाले यसलाई प्रोत्साहन गरिनुपर्ने धारणा राखे ।

१७औं संघीय संसद सेवा दिवसको अवसरमा आयोजित फुटसल प्रतियोगितामा सहभागी हुँदै उनले संसद दिवसका अवसरमा फुटसल खेलेर यो नयाँ खेललाई प्रोत्साहन गर्ने प्रयास गरेको बताए ।

‘संसद सेवा दिवस सांसदहरु,सचिवालयका सदस्यहरु, सभामुख, उपसभामुखलगायत सबैले उत्सव मनाउने दिन हो । हामी फुटसल खेलेर उत्सव मनाउँदै छौं’ उनले भने, ‘फुटसल प्रचलनमा आएको धेरै भएको छैन्, त्यसकारण हामीले यसलाई प्रोत्साहन गर्ने, सिक्ने हिसाबले खेल्दैछौं । नेपालमा फुटसल विकास भएको केही समय भयो, ठूलो खेल्ने ठाउँहरु नहुँदा खेरी खासगरी फुटबलको अभ्यास शहरी क्षेत्रमा विकास भएर युवाहरु खेल्छन् । हामीहरु यसमा सामेल भएर उनीहरुलाई उत्साह दिने र आज उत्सवको रुपमा मनाउँदै छौ ।’

घिमिरेले राजनीति र फुटबल विचार र भौतिक रुपमा खेलिने भएपनि दुवै उस्तै भएको बताए । उनले भने, ‘राजनीतिमा पनि मुन्टो फर्काइँदैन । राजनीतिमा विचार मिलाउन कोसिस गरिन्छ,मिल्नेकोबीचमा मिलेरै खेलहरु हुन्छ,फुटबलमा पनि एउटा टीम मिलेर अर्कोलाई जित्नेगरी जान्छ । राजनीति र खेल उस्तै कुरा हो । राजनीतिले विचारबाट खेल्छ,यसले भौतिक रुपबाट खेल्ने कुरा हो ।’

उपसभामुख इन्दिरा राना मगरले संसदभित्र कार्यरत कर्मचारीहरुलाई उत्साह दिने हिसाबले कार्यक्रम आयोजना गरिएको बताइन् । ‘सधैँ काममात्रै गर्दा मानिसलाई तनाव धेरै हुन्छ, यस्तो कार्यक्रमले काम गर्ने नयाँ जोस पनि दिने गर्छ’ उनले भनिन्, ‘त्यसकारण यस्तो कार्यक्रम वर्षमा होइन, महिनामा एकपटक गर्नुपर्ने हुन्छ ।’

राष्ट्रिसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले देशको चौतर्फी विकासका लागि खेल अनुशासन, लगानशीलता र प्रतिभा अगाडि बढाएर राष्ट्रिय, अन्तरराष्ट्रिय स्तरमा पहिचान गराउने सशक्त माध्यम भएको भन्दै यसलाई अगाडि बढाउन, प्रोत्साहन दिने प्रयास भएको बताए । उनले भने, ‘खेलाडीहरुबाट राजनीतिक दलले अनुशासन र सहयोगी भाव सिक्ने हो भने राजनीतिमा सहज हुन्छ ।’

आज सुरु भएको यो फुटसल प्रतियोगिता भोलिसम्म सञ्चालन हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *