ने. क. पा. (माओवादी)द्वारा एमसिसी सम्झौताको प्रतिरोध गर्ने चेतावनी

Sharing is caring!


साउन २२, २०७८ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतालाई देशका सम्पदाहरु बेचेर खाने रणनीति भन्दै प्रतिरोध गर्ने चेतावनी दिएको छ ।

आज रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी पार्टीको पोखरामा साउन १८ र १९ गते सम्पन्न भएको बैठकबारे जानकारी दिदै प्रवक्ता जनचाहनाले भने, ‘साम्राज्यवादी एमसीसी सम्झौताका विरुद्ध नेपाल कम्युनिस्ट पार्टी माओवादी डटेर प्रतिरोध गर्नेछ ।’ उनले एमसीसीबाट स्वाधीन राष्ट्रलाई झुक्याउन खोज्ने र नेपाली जनतालाई शोषण गर्ने खेल भएको भन्दै त्यसविरुद्ध लड्ने बताए ।

‘नेपाली जनतालाई शोषण गर्ने असमान सन्धि सम्झौताहरु हामीलाई मान्य हुँदैन ।’ उनले भने, ‘एमसिसी राष्ट्रघाती साम्राज्यवादी दलालहरुको साँठगाठको लागि, राष्ट्रियता खोस्नको लागि सम्पदाहरु बेचेर खाने रणनिति हो ।’ एमसिसी नेपाल बेचेर खाने रणनीति भएको आरोप समेत लगाए । उनले एमसिसी सम्झौता विरुद्ध वर्ग संघर्ष मात्र नभएर राष्ट्रिय संघर्षको रुपमा अगाडि बढाउने चेतावनी दिए ।

प्रवक्ता जनचाहनाले १२ बुंदे शान्ती सम्झौताको सार संसदीय व्यवस्था टिकाउने खेल भएको जिकिर गरे । उनले कोरोना महामारीको बाबजुद प्रतिकुल समयलाई अनुकुलतामा ढाल्दै नयाँ नेतृत्व सहित पार्टीको पुर्ण बिस्तारीत बैठक बस्न सम्पन्न भएको जानकारी दिए ।

कार्यक्रममा नेकपा कम्युनिष्ट पार्टी (माओवादी)का सचिवालय सदस्य अर्पणले पार्टीको बिस्तारीत बैठकबाट नेकपा (माओवादी) पार्टीको केन्द्रिय समितिमा ९९ जना रहने समेत सर्वसम्मतले निर्णय गरेको सुनाए ।उनले पार्टीले मालेमावादका आधारभुत सिद्धान्तलाई जनयुद्धको बाटो अबलम्वन गर्दै वैज्ञानिक समाजवादी क्रान्तिलाई अघि बढाउने समेत जिकिर गरे ।

अर्पणले देशमा भएका हत्या, हिंसा, बलात्कार, महंगी, कालोबजारी, भ्रष्टाचार भु–माफिया लुट र सामाजिक दलाल सत्ताको वैधानिक मानव बेचबिखन सबैखाले शोषणका विरुद्ध पार्टी जोडदार प्रतिरोध स्वरुप संघर्षमा उत्रिने बताए । अयोग्य ठहर भई बर्हिगमित भएका जनयुद्धका सिपाहीहरुलाई उचित मुल्यांकन सहित पार्टी राहत तथा पुनः सक्रियताका साथ लडाइँको मैदानमा सहभागी हुन समेत आग्रह गरे ।

पार्टीले संसदीय दलाल कम्युनिष्टहरुको बहुपदिय, गुट महत्वकांङ्क्षी र फुट जस्ता श्रंखला घिनलाग्दा कु दृश्य देखि सावधान राख्दै पार्टीलाई जनता सामु पारदर्शी र बलियो बनाउन एक महासचिव प्रणालीमा लैजाने निर्णय गरेको जानकारी दिए । उनलेसम्पुर्ण नेपालीहरुलाई नेपाल कम्यनिष्ट पार्टी (माओवादी)ले देखाएको राष्ट्रिय स्वाधिनता सहितको वैज्ञानिक समाजवादी क्रान्तिको बाटोमा लाग्न अनुरोध गरे ।

                  

Leave a Reply

Your email address will not be published. Required fields are marked *