मन्त्रीको आकांक्षी धेरै हुनु स्वभाविक : राजेन्द्र श्रेष्ठ

Sharing is caring!

साउन २५, २०७८ । जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता तथा सांसद् राजेन्द्र श्रेष्ठले मन्त्रीको आकांक्षी धेरै हुनु स्वभाविक भएको बताएका छन् । यसको लागि गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुबीच कुराकानी पनि भैरहेको उनको भनाई छ ।

सोमबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता श्रेष्ठले भने,‘यो गठबन्धनको सरकार हो । त्यसो भएको हुनाले अहिले सरकारलाई पूर्णता दिनेबारे पनि कुराकानी भैरहेको छ । हामीले हिजो भर्खरै सरकारको लागि न्यूनतम साझा कार्यक्रम ल्याएका छौं । गठबन्धन भन्ने बित्तिकै सार्वभौम र समानताको आधारमा सरकार चल्ने कुरा हो । यसमा भावनात्मक एकताको कुरा पनि हुन्छ । मन्त्रालय बाँडफाँडको विषयमा छफल भैरहेको छ ।’

उनले वर्तमान सरकारसँग आगामी निर्वाचन पनि सम्पन्न गराउने दायित्व भएकोले उपयुक्त समयमा उपयुक्त निर्णय लिईने पनि बताए । उनले मन्त्री बन्नको लागि आकांक्षी धेरै हुनुलाई स्वभाविक रुपमा लिनुपर्ने पनि बताए । उनले केपी ओली नेतृत्वको सरकारको प्रतिगमनविरुद्ध आफूहरुको एलायन्स बनेको सुनाए । आफूहरु यो संसदलाई पूर्ण कार्यकाल चलाउनुपर्ने पक्षमा उभिएको सुनाउँदै सोहीअनुसार अघि बढेको श्रेष्ठको भनाई छ ।

हिजोमात्रै ल्याईएको साझा न्यूनतम कार्यक्रममा मुख्य प्राथमिकता कोभिड नियन्त्रणको लागि दिइएको बताए । यसको लागि कोरोनाको भ्याक्सिन सबै जनतालाई उपलब्ध गराईने कुरा पनि कार्यक्रममा समावेश गरिएको उनले सुनाए । ‘असोज मसान्तभित्र एक तिहाई जनतालाई र आगामी चैत्र मसान्तसम्म खोप लगाउन योग्य सबैलाई भ्याक्सिन उपलब्ध गराउने कुरा हामीले कार्यक्रममा समावेश गरेका छौं ।’–उनले भने ।

त्यस्तै, स्वास्थ्य क्षेत्रमा भएको भ्रष्टाचार छानबिन गर्ने र दोषीमाथि कारबाही गरिने कुरापनि कार्यक्रममा समावेश गरिएको उनले सुनाए । आफुहरुले अल्पकालिन र दीर्घकालिन गरेर कार्यक्रम बनाएको उनको भनाई छ । त्यस्तै, उनले सुशासनमा पनि जोड दिने कुरा कार्यक्रममा समावेश गरिएको बताए । काठमाडौं बाहिर हाई–टेक शहर बनाउने कुरापनि साझा कार्यक्रममा राखिएको बताउँदै उनले भने,‘अब हामीले उत्पादनशील अर्थतन्त्र बनाउनतिर ध्यान दिनुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *