गुमेको नेपाली भूमि फिर्ता लिने ऐतिहासिक अवसर आएको छ : दाहाल

Sharing is caring!

कात्तिक २७, २०७६ । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले ‘लिम्पियाधुरा नै काली नदीको मुहान हो’ भनेर राष्ट्रिय सहमति बन्नु खुसीको विषय भएको बताएका छन् । मंगलबार भरतपुरमा आयोजना भएको पार्टीको कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री तथा चितवन–३ का सासंदसमेत रहेका दाहालले भने, ‘जुन राष्ट्रिय एकता र सहमति बन्यो यसले गुमेको भूमि फिर्ता लिने ऐतिहासिक अवसर आएको छ ।’

भारतले औपचारिक रुपमा नै आफ्नो नक्सामा नेपाली भूमि लिपुलेक, कालापानी क्षेत्र र काली नदीको मुहान लिम्पियाधुरा राखेपछि नकारात्मक र चुनौतीपूर्ण स्थिती देशभक्त नेपाली सामु खडा भएको उनले बताए । ‘नकारात्मक कुरालाई सकारात्मक बनाउने चुनौतीलाई हामीले स्वीकार गरेका छौं । लिम्पियाधुरा महाकालीको मुहान हो । महाकाली पूर्व नेपाल र पश्चिम भारत हो । हामी अरु कुरा मान्दैनौं,’ दाहालले भने ।

उनले १८१६ को सुगौली सन्धी, त्यसपछिका चिठ्ठीपत्र र सुगौली सन्धीपछि छापिएको औपचारिक र वैधानिक नक्समा लिम्पियाधुरालाई नै काली नदीको मुहान मानिएको बताए । ‘काली नदी नै सीमा नदी भनेको हुँदा ऐतिहासिक तथ्य, तर्क र दस्तावेजले नेपालको भुमि र भारतको भूमि कुन हो र कति हो भन्ने कुरा प्रमाणित गरेको छ,’ दाहालले भने । यस तथ्यमा राष्ट्रिय सहमति र एकता हुनु खुसी र गर्वको कुरा भएको उनले बताए ।

नेपाल र भारतमा शक्तिशाली सरकार भएको र सिंगो नेपाल एकजुट भएको बेला नेपाली भूमि फिर्ता लिने अवसर निर्माण भएको उनले बताए । ‘यही समय हो हामीले हाम्रो राष्ट्रको एकतालाई, भौगोलिक अखण्डतालाई र नेपालीको सार्वभौमसत्तालाई सम्मानित गर्ने । यति राम्रो अवसर फेरी प्राप्त हुँदैन,’ दाहालले भने ।

भरतपुर महानगरपालिकाका वडा कमिटिका पदाधीकारीहरुको सपथ ग्रहण कार्यक्रममा भाग लिन उनी भरतपुर आएका छन् । यो खबर कान्तिपुरबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *