गुमेको नेपाली भूमि फिर्ता लिने ऐतिहासिक अवसर आएको छ : दाहाल
कात्तिक २७, २०७६ । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले ‘लिम्पियाधुरा नै काली नदीको मुहान हो’ भनेर राष्ट्रिय सहमति बन्नु खुसीको विषय भएको बताएका छन् । मंगलबार भरतपुरमा आयोजना भएको पार्टीको कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री तथा चितवन–३ का सासंदसमेत रहेका दाहालले भने, ‘जुन राष्ट्रिय एकता र सहमति बन्यो यसले गुमेको भूमि फिर्ता लिने ऐतिहासिक अवसर आएको छ ।’
भारतले औपचारिक रुपमा नै आफ्नो नक्सामा नेपाली भूमि लिपुलेक, कालापानी क्षेत्र र काली नदीको मुहान लिम्पियाधुरा राखेपछि नकारात्मक र चुनौतीपूर्ण स्थिती देशभक्त नेपाली सामु खडा भएको उनले बताए । ‘नकारात्मक कुरालाई सकारात्मक बनाउने चुनौतीलाई हामीले स्वीकार गरेका छौं । लिम्पियाधुरा महाकालीको मुहान हो । महाकाली पूर्व नेपाल र पश्चिम भारत हो । हामी अरु कुरा मान्दैनौं,’ दाहालले भने ।