लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो : सांसद शर्मा

Sharing is caring!

मंसिर ५, २०८० । नेपाली काँग्रेसका सांसद डा. सुनील शर्माले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको बताएका छन् ।

मंगलवार विदेश भ्रमण गरी स्वदेश फर्किएका शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग बोल्दै दुर्गा प्रसाईले भने जस्तो व्यवस्था परिवर्तन होइन तर व्यवस्थाभित्र लुटतन्त्र मच्चाएकाहरुलाई भने हटाउनु पर्ने बताए ।

उनले भने, ‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो, तर अहिलेको अवस्थामा भन्नको लागि लोकतन्त्र भन्ने तर नियन्त्रित लोकतन्त्रको रुपमा लगिएको छ । दुर्गा प्रसाईंले भनेको जस्तो व्यवस्था परिवर्तनको पक्षमा म छैन, लोकतन्त्रको विकल्प छैन तर व्यवस्थाभित्र भएका खराब मानिसहरु जसले देशमा लुटतन्त्र मच्चाएर जसरी शासन सत्ता चलाएका छन् यसविरुद्ध भने जानु पर्छ ।’

अहिले राज्यसत्ता ‘आधुनिक लुटेराहरु’ ले सञ्चालन गरिरहेको भन्दै यो सरकारले दूरदराजमा भएका भुईं मान्छेहरुका आवाज, गरिबका आवाज नसुनेको बताए ।

उनले भने, ‘अहिले राज्य सत्तामा आधुनिक लुटेराहरु छन् । अहिले आधुननिक राजनीतिक लुटेराहरुले यो मुलुक चलाइरहेको देखिन्छ । केही सभ्रान्त मानिसहरु र हरेक पार्टीका केही व्यक्तिहरु जसले राज्य संयन्त्रको दोहन गरेका छन् । उनीहरु दूरदराजमा भएका भुईं मान्छेहरुका आवाज, गरिबका आवाज सुन्दैनन् । सामान्य मानिसले रोटी पकाउन र चिया खान प्रयोग गर्ने चिनी अहिलेका प्रधानमन्त्रीका परिवारले म्यानुपुलेशन गरी रातारात कालोबजारीमा कन्भर्ट गरेर करोडौँ रुपैयाँको चलखेल भयो । नेपाल डिपो भन्ने ग्यास प्रधानमन्त्रीको भान्जाले किन्नुभएको छ र ग्यासमा ४२५ रुपैयाँ बढाइएको थियो, केही हल्ला भएपछि घटाइयो । त्यसमा ६ अर्ब पैसा जनताको पकेटबाट लुट्ने काम गरियो ।’

यस्तै, उनले विश्व बजारमा व्यापार व्यवसाय गर्ने व्यापारीहरुलाई नेपालमा लगानी गर्ने वातावरण बनाउनु पर्ने भन्दै त्यसका लागि आवश्यक कानून निर्माण गर्नुपर्ने बताए ।

उनले भने, ‘देश बाहिर रहेका नेपाली व्यापारीहरु जो विश्व बजारमा व्यापार व्यवसाय गरेर बसेका छन् । उनीहरुलाई नेपालमा लगानी गर्ने वातावरण बनाइदिने हो भने अर्बौ पैसा ल्याउन सक्ने अवस्था मैले देखेको छ । तर बाहिर रहेका नेपालीहरुको गुनासो भनेको देशमा पैसा भित्र्याउने वातावरण नै छैन भन्ने रहेको छ । त्यसका लागि आवश्यक कानून निर्माण गर्नुपर्ने कुरा छ । यो कुरा सरोकारवालाहरुसम्म पुर्याउने छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *