मन्त्रालयमा अनावश्यक ढिलासुस्ती बढ्न थालेको छ : मन्त्री सिंह

hitkhabar.com


काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनताको सुविधा र हितका लागि गठन गरिएका मन्त्रालयहरुमा अनावश्यक ढिलासुस्ती बढ्दै गएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित कार्यसम्पादन समितिको बैठकलाई सम्बोधन गर्दै उनले मन्त्रालयहरुको मूल उद्देश्य जनतालाई सेवा र सुविधा उपलब्ध गराउनु भएको स्मरण गराउँदै पछिल्लो समय काममा ढिलासुस्ती र कमजोरी देखिएको बताए ।

उनले भने, “मैले के देखिरहेको छु भने संस्थालाई अघि बढाउने काममा तपाईहरुको कमी कमजोरी देखिएको छ । जनताको सेवा सुविधाको लागि मन्त्रालय गठन भएको हो, तर सेवामा नै अनावश्यक रुपमा ढिला गर्न थालेपछि गाह्रो हुने भयो । प्रोजेक्टमा नेतृत्व लिएका व्यक्तिहरुले सही समयमा निर्णय लिन सकिरहेका छैनन् । ऐन, नियम र निर्देशिकाको आधारमा काम गर्नु पर्ने हो तर ढिला गर्ने, आफूलाई फाइदा खोज्ने प्रवृत्ति देखिएको छ ।”

मन्त्री सिंहले ३ वर्षमा सम्पन्न हुनुपर्ने कामलाई ६ वर्षसम्म लम्ब्याउने कार्यशैलीले मन्त्रालयले काम नै नगरेको जस्तो देखाउने बताए । उनले सरकारले तोकेको जिम्मेवारी र ऐन–कानूनलाई आधार बनाएर समयमा नै काम सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

उनले थपे, “आफ्नो स्वार्थ मात्रै हेरेर काम हुने होइन । कर्मचारीहरुले जिम्मेवारी पूरा गर्नुपर्छ । विकाससँग सम्बन्धित मन्त्रालय भएकाले सबैको आँखा यतै हुन्छ । ३ वर्षमा सकिने काम ६ वर्षमा पुरा गर्ने, २ वर्षमा सकिने काम ४ वर्ष लगाउने प्रवृत्ति सुधार्नैपर्छ ।”

काममा ढिलाइ गरेर कुनै फाइदा नहुने भन्दै उनले कर्मचारीलाई तोकिएको जिम्मेवारी समयमै पूरा गर्न आग्रह गरे । मन्त्री सिंहका अनुसार मन्त्रालयको नेतृत्व गर्ने मन्त्री र सचिवबीच २०८२/८३ को योजना र प्राथमिकताहरुलाई कार्यान्वयन गर्न इमान्दारिताका साथ काम गर्नुपर्ने उद्देश्यसहित कार्यसम्पादन समितिको बैठक सम्पन्न भएको छ ।

प्रतिक्रिया