काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नती कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ । वर्षाको मौसम हुँदाहुँदै पनि ट्याक्सी–वे, एप्रोन र अन्य संरचनाको निर्माण अन्तिम चरणमा पुगेको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार हवाई यात्रुको चाप अत्यधिक बढेपछि क्षमता विस्तारका लागि गुरुयोजना अद्यावधिक गरी सन् २०२० अगस्ट २० देखि काम सुरु गरिएको थियो । हालसम्म ७५ प्रतिशत काम सम्पन्न भइसकेको क्यानका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।
उनका अनुसार धावनमार्गदेखि ७५ मिटरभित्रको अत्यधिक सुरक्षा संवेदनशील क्षेत्रमा काम गर्न राति १० घण्टा विमानस्थल बन्द गरेर पाँच महिना काम गरिएको थियो । त्यतिबेला आलोचना भए पनि यात्रु संख्यामा उल्लेख्य गिरावट आएको छैन ।
नेपाल सरकार र क्यानको संयुक्त लगानीमा ७ अर्ब रुपैयाँ बराबरको लागतमा विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ट्याक्सी–वे, उत्तरतर्फ अन्तर्राष्ट्रिय एप्रोन, पूर्वपट्टि ह्याङ्गर क्षेत्र निर्माण भइरहेको छ । निर्माणको जिम्मा चिनियाँ कम्पनी एभिक इन्टरनेसनलले लिएको हो ।
निर्माण सम्पन्न भएपछि विमान पार्किङको क्षमता ११ बाट १८ पुग्नेछ । धावनमार्गको क्षमता २५ प्रतिशतले बढ्ने प्राधिकरणको अनुमान छ । अहिले दैनिक ३०० उडान हुने त्रिभुवन विमानस्थलको यात्रु क्षमता पनि करिब १ करोड पुग्नेछ ।
पश्चिमतर्फको ट्याक्सी–वे विस्तार नेपाल आयल निगमको हवाई इन्धन डिपोको कारण रोकिएको छ । तर, डिपो उत्तरतर्फ सार्न आवश्यक जमिन उपलब्ध गराइसकिएको र स्थानान्तरण भएपछि त्यस क्षेत्रमा पनि काम अघि बढ्ने प्राधिकरणले जनाएको छ ।
यससँगै अन्तर्राष्ट्रिय यात्रु टर्मिनललाई अत्याधुनिक बनाउने योजना पनि अगाडि सारिएको छ । ३ हजार मिटर लामो रहेको धावनमार्गलाई यसअघि नै विस्तार गरी ३३०० मिटर बनाइएको छ ।