काठमाडौं । सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा ज्यान गुमाएका श्रीकृष्ण विश्वकर्माकी आमा विन्दमया विश्वकर्माले आफ्नो छोराको हत्यालाई आत्महत्या प्रमाणित गर्न खोजिएको आरोप लगाएकी छन्।
मंगलबार काठमाडौंको संवाद डबलीमा जेनजी युनाइटेडले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्रहरी हिरासतमा छोराको हत्या भएको दाबी गर्दै दोषीलाई बचाउने षड्यन्त्र भइरहेको जिकिर गरिन्।
विन्दमायाले घटना भएको एक महिना बितिसक्दा पनि न्याय नपाएको भन्दै राज्यको नियतमाथि प्रश्न उठाइन्। माइतीघर मण्डलामा एक महिनादेखि धर्नामा बस्दै आएको बताउँदै उनले पोस्टमार्टम रिपोर्टमा आत्महत्या देखाइएको भन्ने हल्लाले आफूलाई थप पीडा दिएको बताइन्।
“छोराको न्यायका लागि झरीमा भिज्दै गुहार मागिरहेकी छु, अब त न्याय आकाशको फल आँखातरी मर जस्तै भयो, अब म कहाँ जाऊँ ?” उनले भनिन्।
उनले ड्युटीमा खटिएका प्रहरीलाई निलम्बन गरिएको भन्ने सुने पनि निलम्बन मात्र पर्याप्त नहुने बताइन्। “मेरो छोराको हत्या भयो, दोषीलाई निलम्बन गरेर मात्रै पुग्छ ?” उनले प्रश्न गरिन्।
कार्यक्रममा जेनजी युनाइटेडका संयोजक जनक परियारले घटना भएको एक महिना बितिसक्दा पनि पीडितले न्याय नपाउनु दुःखद भएको बताए। उनले घटनालाई आत्महत्या प्रमाणित गर्ने प्रयास भइरहेको र प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ हुँदा थप आशंका पैदा भएको बताए।
श्रम–संस्कृति पार्टीका युवा नेता निर्मल परियार, रामराज्य परिषदका अध्यक्ष जगतबहादुर थापा, सामाजिक अभियन्ता उमेश रम्तेल, जेनजी स्मृति राईलगायतले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका थिए।
वक्ताहरूले श्रीकृष्ण विश्वकर्मा प्रकरणमा राज्य गम्भीर बन्नुपर्ने, पीडित परिवारलाई न्याय दिनुपर्ने र घटनाको वास्तविकता सार्वजनिक गर्नुपर्नेमा जोड दिएका थिए।