मधेश प्रदेशमा विपद् व्यवस्थापन समिति बैठक सम्पन्न, सतर्कता अपनाउन मुख्यमन्त्री सोनलको आग्रह

hitkhabar.com


जनकपुर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलको नेतृत्वमा पहिलो प्रदेश विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ। आगामी दिनमा देखिन सक्ने मौसमी प्रभाव र चक्रवातजन्य जोखिमको पूर्वतयारी स्वरूप उक्त बैठक बसेको हो।

जल तथा मौसम पूर्वानुमान शाखाले बिहीबारदेखि देशभर मौसम बदली हुने र मोन्था चक्रवात को असर नेपालमा पर्ने सम्भावना रहेको जानकारी दिएको छ। त्यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सात बुंदे अनुरोध जारी गर्दै देशभर सतर्कता अपनाउन आग्रह गरेको छ।

सोही सन्दर्भमा मधेश प्रदेशमा पनि सम्भावित प्रभाव र जोखिम व्यवस्थापनका उपायबारे छलफल गर्न मुख्यमन्त्री सोनलसहित प्रदेशका सम्बन्धित निकायका पदाधिकारी सहभागी भएर बैठक सम्पन्न भएको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री सोनलले आगामी मौसमी परिवर्तन र चक्रवातका कारण हुन सक्ने सम्भावित जोखिम न्यूनिकरणका लागि तीनै तहका सरकार र सुरक्षा निकायलाई सक्रिय रूपमा खटिन निर्देशन दिएको जानकारी दिए।

उनले विशेषगरी मधेश प्रदेश हुँदै बग्ने नदीनालाका तटबन्ध क्षेत्रमा रहेका बस्तीहरूलाई सुरक्षित स्थानमा सार्न सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएको उल्लेख गरे।

मुख्यमन्त्री सोनलले गैरसरकारी संस्था, युवा क्लबहरू र स्थानीय युवाहरुलाई जोखिम क्षेत्रका नागरिकलाई सहयोग गर्न आग्रह गर्दै सबै निकायबीच सहकार्य र समन्वयमा जोड दिए। साथै उनले कुनै समस्या परे नजिकको सुरक्षा निकाय, प्रहरी चौकी वा गृहमन्त्रालयमा तुरुन्त सम्पर्क गर्न प्रदेशवासीलाई आग्रह गरे।

जोखिम र विपद्का बेला सबै नेपालीले एकअर्कालाई साथ दिँदै अघि बढ्नु आवश्यक रहेको बताउँदै मुख्यमन्त्री सोनलले प्रदेशवासीलाई संयम र सतर्क रहन अपिल गरे।

प्रतिक्रिया