काठमाडौं । सरकारले जेनजी आन्दोलनको क्रममा ज्यान गुमाउनेहरुलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने र असोज १ गते शोक दिवस मनाउन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गृह तथा कानून मन्त्री ओमप्रकाश अर्यालका अनुसार सरकारले शहीद घोषणासँगै असोज १ गते देशभर सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
उनले भने, “जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुलाई शहीद घोषणा गरी राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय भएको छ । साथै असोज १ गते शोक दिवसका दिन सार्वजनिक बिदा दिइनेछ र राष्ट्रिय झण्डा ओडाइनेछ ।”
यसैगरी सरकारले मृतकका परिवारलाई क्षतिपूर्तिको शीर्षकमा १० लाख र अन्य खर्च वापत ५ लाख गरी कुल १५ लाख रुपैयाँ अर्थ मन्त्रालयमार्फत वितरण गर्ने निर्णय पनि गरेको मन्त्री अर्यालले जानकारी दिए ।
बैठकले आन्दोलनका क्रममा भएका घटनाबारे सत्यतथ्य छानबिन गर्न न्यायिक जाँचबुझ आयोग गठन गर्ने र आन्दोलनमा ज्यान गुमाएकाहरुको स्मरणमा ‘जेनजी जागरण स्मारक पार्क’ स्थापना गर्ने निर्णय पनि गरेको छ ।