काठमाडौं । नेवार समुदायसहित बौद्ध धर्मावलम्बीले विशेष श्रद्धा र भक्ति भावका साथ मनाउने ‘गुँला पर्व’ आजदेखि सुरु भएको छ। नेपाल संवत्को नवौं महिनाको प्रारम्भसँगै आरम्भ हुने यो पर्व साउन शुक्ल प्रतिपदादेखि भदौ शुक्ल प्रतिपदासम्म, अर्थात् एक महिनासम्म मनाइन्छ।
हिनयान, महायान र बज्रयान—तीनवटै शाखाका बौद्ध अनुयायीहरूले शाक्यमुनि गौतम बुद्धप्रति आस्था व्यक्त गर्दै विविध धार्मिक गतिविधिमा संलग्न हुने यो पर्वलाई बुद्धले ज्ञान प्राप्त गरेको पवित्र महिनाको रुपमा मानिन्छ।
गुँला पर्वको अवसरमा काठमाडौं उपत्यकाका बौद्ध गुम्बा र चैत्यमा विशेष पूजाआजा, भजन, ध्यान र परिक्रमा गर्ने परम्परा छ। विशेषगरी स्वयम्भू महाचैत्यको परिक्रमा, विजयश्वरी, शोभाभगवती, केलटोलको सेतो मत्स्यनारायणको दर्शन र पूजा गुँला पर्व अन्तर्गत गरिने मुख्य कार्य हुन्।
नेवारी भाषामा ‘गुँ’ शब्दले नौ र ‘ला’ले महिना जनाउने भएकाले नेपाल संवत्को नवौं महिनामा मनाइने यो पर्व ‘गुँला’ भनेर चिनिन्छ। पछिल्ला वर्षहरूमा हिन्दू धर्मावलम्बी नेवार समुदायले पनि यस पर्वलाई आस्था र संस्कृति सँग जोड्दै मनाउन थालेका छन्।
गुँला पर्व केवल धार्मिक आस्थाको विषय मात्र होइन, यसले समुदायको एकता, परम्परा र सांस्कृतिक पहिचानलाई समेत बलियो बनाउने अवसर हो।