काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।
बुधबार श्रेष्ठको हात्तीवनस्थित निवासमा करिब एक घण्टा लामो भेटवार्ता भएको हो । सो अवसरमा दुई नेताबीच समसामयिक राजनीतिक अवस्था, नेपालमा कम्युनिष्ट तथा क्रान्तिकारी आन्दोलनको दिशा, राष्ट्रियता, जनचासोका मुद्दा र पार्टी एकताको सम्भावनाबारे गहन छलफल भएको स्रोतले जनाएको छ ।
भेटमा दुबै नेताले मुलुकमा विद्यमान राजनीतिक अन्योल, जनअपेक्षाप्रति पार्टीहरूको भूमिका र भावी रणनीतिबारे विचार आदानप्रदान गरेका थिए ।
हालै केही दिनयता वामपन्थी दलहरूबीच छलफल र भेटघाटको क्रम तीव्र भइरहेको सन्दर्भमा यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
दुवै नेताले मुलुकमा जनमुखी परिवर्तन, आर्थिक विकास र राष्ट्रियता सुदृढ बनाउन वाम शक्तिबीच एकता, सहकार्य र साझा धारणा आवश्यक रहेको निष्कर्ष निकालेको जनाइएको छ ।